बिलखबन्दमा पर्यटक, अध्यागमनका कर्मचारीलाई भ्रष्टाचारीको ट्याग

शिलापत्र

काठमाडाैं

पर्यटक भिसाअनुसार एक जना पर्यटक वर्षमा एक सय ५० दिन (पाँच महिना)मात्रै नेपाल बस्न पाउँछ। निषेधाज्ञा भएकाले सरकारले सन् २०२१ मा दुई महिना थपेर पर्यटक भिसा अवधि २१० दिन (सात महिना) बनाएको छ।

पर्यटक भिसामा सन् २०२० फेब्रुअरीमा नेपाल आएकी इटालीकी मार्ता अहिले पोखरामा छिन्। सन् २०२१ को २१० दिन जुलाईमा सकिने भएकाले मार्ता अबको २० दिनभित्र स्वदेश फर्कनुपर्छ। उनी मात्रै होइन यो भिसा वर्षको जनवरी (पुस)देखि नै नेपालमा रहेका पर्यटक यही जुलाई अर्थात् १५ साउनभित्र स्वदेश फर्किनुपर्ने हुन्छ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले उनलाई स्वदेश फर्कन भने सहज छैन। सरकारले २१० दिनभन्दा बढी बस्न नदिने नीति लिएकाले मार्तासहितका पर्यटक बिलखबन्दमा परेका छन्। ‘कोरोनाको जोखिम भएकाले उडान धेरै छैन। भए पनि भाडा पहिलाको भन्दा निकै महँगो छ। कसरी फर्किने ?’ मार्ताले प्रश्न गर्दै थपिन्, ‘उडान पनि रद्द भए झनै समस्या हुन्छ।’

कोरोनाको जोखिमका कारण एउटाबाट अर्को देश जान पनि कडाइ गरिएको छ। त्यसैले अवस्था सहज नहुँदासम्म नेपालमै बस्ने व्यवस्था गरिदिन सरकारलाई पर्यटकको आग्रह छ।

अध्यागमन विभागले बिहीबार सूचना निकालेर गत १५ वैशाखसम्म वैध भिसा भएका विदेशी ३१ असारसम्म स्वदेश फर्किए कुनै शुल्क नलाग्ने भनेको छ। ३१ असार (१५ जुलाई)पछि स्वदेश फर्कने विदेशीलाई भने भिसा शुल्क, विलम्ब शुल्क वा जरिवाना लगाउने त्यो सूचनामा उल्लेख छ। ३१ असारअघि स्वदेश फर्किनेलाई भने कुनै पनि शुल्क नलिने विभागले भनेको छ।

प्रकाशित मिति: : 2021-07-10 18:50:00

प्रतिकृया दिनुहोस्