भानु केहीथोक होइन र भानु नै सबैथोक भन्ने तर्कको बाहुल्य
प्रत्येक वर्ष असार–२९ को सेरोफेरोमा नेपाली भाषा–साहित्यका कवि भानुभक्त आचार्यको पक्ष विपक्षमा बहस हुने गरेको छ । एक पक्ष उनको भाषिक एकता र सिर्जनाशीलताको पैरवी गर्छन् भने अर्को पक्ष भानुभक्तलाई एकल राष्ट्रवादी नीतिले मात्रै केन्द्रमा उठाएको पैरवी गर्छन् ।
गणतन्त्र स्थापनासँगै मुलुक बहुजाति, बहुभाषा, बहुसंस्कृतिको संगम भएको अवस्थामा भानुभक्तलाई मात्र आदिकवि तथा भाषाको मानक मान्न नहुने बहस अहिले टड्कारो छ ।
यसरी भानु नै सबैथोक हुन् र भानु केही होइन भन्ने दुवैथरि मान्यता अर्थहीन रहेको बताउँछन् समालोचक अभि सुवेदी । उनका अनुसार भानुभक्तले पथ्वीनारायणले झैं देश एक बनाए, भाषिक एकता गरे भन्ने कुराहरूसमेत तपशील हुन् ।
‘हामीले भानुभक्तलाई कवि र कवित्वकै आधारमा हेर्नुपर्छ’ भानुमाथिको आफ्नो अनुसन्धानमूलक लेखको निचोड बताउँदै सुवेदी भन्छन्, ‘उनी अत्यन्तै सशक्त अनुवादक हुन् भन्ने कुरा रामायणको जनप्रियताबाटै पुष्टी हुन्छ । यसैले उनलाई इजलासमा पस्किने कुराको कुनै सार्थकता छैन ।’
सुवेदीको धारणासँग निकट रहेर कवि तुलसी दिवस ‘भानु नै सबै चिज भएको तथा भानु केही पनि होइन’ भन्नु अत्यन्त चरममा पुग्नुसरह रहेको धारणा राख्छन् ।
दिवस थप्छन्, ‘रामायणको अनुवादमा नेपालीपन दिन गरेको भानुको योगदानको हामीले कदर गर्नुपर्छ । किनभने उनले आफ्नो कवित्वमार्फत् रामायणलाई नेपाली जनजीवनमा प्रिय बनाए ।’