नेपाली अमूर्त चित्रकला पहिलोपल्ट आधिकारिक रूपमा सन् १९५९ मा देखापर्याे। त्यो उर्मिला उपाध्याय गर्गको पहिलो एकल कला प्रदर्शनी थियो, जहाँ उनले प्रिन्ट मेकिङ कलामा अमूर्त चित्रकलाको प्रदर्शन गरेकी थिइन्। यसअघि सन् १९५४ मा तेजबहादुर चित्रकार र अझअघि सन् १९२९ मा चन्द्रमानसिंह मास्केले एकल कला प्रदर्शनी गरेका थिए, यी दुवै प्रदर्शनीमा यस प्रकारका कलाको स्वरूप र प्रकृति देखापरेको थिएन। बरु यसैबीच सन् १९५५ तिर भएको गेहेन्द्रमान अमात्यको एकल कला प्रदर्शनीमा यही प्रकृतिका केही चित्र देखापरेका थिए। तथापि अमूर्त कलाको उद्भव र गहकिलो मोड सन् १९५९ मा र ६० को दशकपछि आएको हो। यसका केही दरिला आधार छन्।
उर्मिला उपाध्यायले कलामा औपचारिक अध्ययन र उच्च शिक्षा ग्रहण गर्न मुम्बईको जे जे स्कुल अफ आर्ट र युरोप समेत पुगेकी थिइन्। त्यसबखत मुम्बईमा पश्चिमी आधुनिक कलाको ताजा माहोल थियो। युरोपमा भने आधुनिककला पूर्ण रूपमा स्थापित भई उत्तरआधुनिक कलाको प्रयोग र अभ्यासमा कलाकार व्यस्त थिए। त्यतिवेला युरोपमा अमूर्त कलालाई मान्यता दिइसकिएको थियो, त्यसैले अमूर्त कलाको धरातलमा थप नौलो कलाको प्रकृतिलाई खोज्न कलाकार व्यस्त थिए। यसैवेला अमूर्त अभिव्यञ्जना र एक्सन पेन्टिङ, अलि पछि कलर फिल्ड पेन्टिङको उद्भव तथा विकास भएको थियो।
एक्सन पेन्टिङ र कलर फिल्ड पेटिङलाई अमूर्त कलाको परकाष्ठाको रूपमा व्याख्या विश्लेषण गर्ने प्रचलन छ। यसर्थ यसै वेला युरोप पुगेका लैनसिंह वाङ्देल, उर्मिला उपाध्याय र लक्ष्मण श्रेष्ठले यस कुरालाई गहिरोसँग अध्ययन र अनुभूत समेत गरेको थाहा लाग्छ। लैनसिंह वाङदेल कलकत्ताको गभर्नमेन्ट स्कुल अफ आर्टबाट कलाको अध्ययन पूरा गरेर युरोपतिर लागेका थिए भने लक्ष्मण श्रेष्ठ मुम्बईको जे जे स्कुल अफ आर्टबाट कलामा अध्ययन गरी।