गोलकी

शिलापत्र

काठमाडौं

यान सोमेर मानौँ चुम्बक हुन्। र, भकुण्डो फलाम हो। उनी उभिएको गोलपोस्टको चौघेरा नाघेर सायदै भकुण्डोभित्र पस्छन्। उनलाई देख्दा त्यो क्षण सम्झना हुन्छ, जब सानोमा म मोजाको फुटबल खेल्थेँ। र चर्को चर्को आवाजमा चिच्याउँथे, 'गोलकी कस्तो चुम्बकजस्तो।'

त्यो तराईको ऐलानी बस्तीमा कसले भित्र्याए होलान् ‘गोलकी कस्तो चुम्बकजस्तो’ नारा। वर्षमा दुई/चार पटक मात्रै गाउँ पस्ने हुलाकीले पक्कै चिट्ठीमा पोको पारेर ल्याएन होला !

जङ्गल बस्ती बनेको वर्षौंपछि सदरमुकामबाट हिनहिनाउँदै डोजर आउनुअघि नै आइसकेको थियो, ‘गोलकी कस्तो चुम्बकजस्तो।’ चुम्बक भने रेडियोसितै गाउँ पसेको थियो, स्पिकरमा टाँसिएर। बाले ल्याएको नेसनल पानासोनिक रेडियो मरिचमान सिंहको गुमेको सत्तासँगै थोत्रिँदै गएपछि एक दिन मैले खोलेको थिएँ। हेर्नु थियो– समाचार पढ्ने मान्छे कुन कुनामा लुकेर बस्छ। समाचार पढ्ने मान्छे भित्रका त्यान्द्रातुन्द्रीमा कतै भेटिएन। तर, चुम्बक भने भेटियो। असाध्यै कालो। परारतिर ब्याकहोलको चित्र नआएको भए, मलाई जिन्दगीभरि लाग्दो हो, ब्ल्याकहोल रेडियोको चुम्बकजस्तै हुन्छ, गोलो र गाढा कालो। 

उदाङ्गो परेको रेडियो देखेपछि साँझ घर फर्किएका बाले मेरो घुच्चुकमा एक मुड्की बजार्नुभएको थियो। पर्सिपल्टै रेडियो बनेर आयो। तर, खुर भाँचिएको घोडाजस्तो रफ्तारबिनाको भयो। नारायण गोपालको मृत्युमा सारा काठमाडौं मलामी गएको समाचार बजाएको महिनादिनपछि त्यसले सुर गुमायो र बज्न छाड्यो। 

प्रकाशित मिति: : 2021-07-10 08:13:00

प्रतिकृया दिनुहोस्