काम नपाउँदा घर फर्कनेको सङ्ख्या बढ्दै

सिद्धराज भट्ट

सुदूरपश्चिम
फाइल तस्वीर
फाइल तस्वीर

अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किए। आज कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किदै गरेको भेटिएका उनले भने, 'कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि स्वदेश फर्किन बाध्य भइयो।'

अछामकै बाराला गाउँकै अमरनाथ जोशीले कोरोना समस्या निम्तिदा कम्पनी बन्द भएकाले मालिकले कामबाट हटाइएपछि आफू घर फर्किनु परेको दुःखेसो सुनाए।

'कोरोनाको समस्याले भारतमा समेत काम पाउने वातावरण अब देखिँदैन,' जोशीले भने, 'आफ्नै देशमा बसेर केही काम गर्ने इच्छा भए पनि यहाँ पनि त्यस्तो वातावरण देखिँदैन।' भारतमा तेस्रो लहरको कोरोना भाइरसको सम्भावित जोखिम देखिएको क्षेत्रका नेपाली यतिबेला स्वदेश फर्किइरहँदा अन्य धेरै नेपाली कामको खोजीमा भारत गइरहेका छन्।

पहिलो र दोस्रो कोरोनाको लहर देखिँदा कम्पनी बन्द भए पनि कमाएको पैसाको भरमा उतै गुजारा चलाउनु परेको फर्किएका नेपालीको भनाइ छ। कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम गर्न महाराष्ट्रमा लामो समयदेखि बन्दाबन्दी गरिएको छ।

बन्दाबन्दीसँगै होटेललगायतका उद्योग व्यवसाय बन्दा हुँदा एक महिनायता मात्रै महाराष्ट्रको बम्बई भाइन्दर भन्ने ठाउँमा कार्यरत झण्डै एक हजार नेपाली बेरोजगार भई घर फर्किएको उनीहरुले बताएका छन्।

कामको खोजीमा भारतको तेलङ्गना राज्यतर्फ जाँदै गरेको भेटिनु भएका डोटीको दीपायल सिलगढी नगरपालिका—७ का रामबहादुर महराले भने, 'कोरोना महामारी अझै हटेको छैन भन्ने सुनिएको भए पनि कतै काम पाइहालिन्छ कि भन्ने आशमा उतै जान लागेको छौँ।' तेलङ्गना जान महरासहितका नौ युवा आज पाँच घण्टा पर्खिँदासम्म पनि बस नपाएपछि सीमा नाकामै अलपत्र परेका थिए।

दीपायलको एक होटलमा रु पाँच हजारमा काम गरे पनि आम्दानी बढ्न नसक्दा महराले आफ्नै सानो पसल चलाए। पसलबाट पनि सोचेजति आम्दानी हुन नसकेपछि बाख्रापालनमा हात हाले। यो व्यवसायबाट पनि आम्दानी नहुँदा कामको खोजीमा उनी आठ वर्षअघि भारत पसेका थिए।

उनले भने, 'भारतमा काम गर्दा सन्तुष्ट नै थिएँ, अहिले भने यो कोरोनाले हुनसम्म दुःख दियो।' तेलङ्गनामा झण्डै पाँच हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेकामा एक वर्षयता अधिकांश नेपाली घर फर्किनुपरेको बताइएको छ।

कोरोना महामारीसँगै स्वदेश फर्किएकामध्ये अधिकांश नेपाली कामको खोजीमा यतिबेला भारत गइरहँदा त्यहाँ कार्यरत अन्य कतिपय नेपाली स्वदेश फर्किनुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ।

गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिएका रेडक्रसकर्मी डम्बर खातीले केही हप्तायता झण्डै ४०० जति फर्किने गरेकामा झण्डै एक हजार ५०० भारततर्फ गइरहेको पाइएको बताए। रेडक्रसकर्मीको पहलमा केही दिनअघि भारतबाट फर्किदा बाटामै लुटपाटमा परेर सीमा नाकामा अलपत्र अवस्थामा भेटिएका बझाङका एक व्यक्तिको उद्धार गरी गन्तव्यमा पठाउने व्यवस्था मिलाएको थियो।

उनले भने, 'फर्किनेहरुको नमूना परीक्षण गर्ने गराउने काममा सहजीकरण गर्ने, आवागमन गर्दा समस्यामा परेकालाई सक्दो सहयोग गरिरहेका छौँ।' सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्यस्थल भारत हो। कोभिड—१९ को महामारी निम्तिएसँगै बन्दाबन्दी गरिएपछि भारतका विभिन्न क्षेत्रमा काम गरिरहेका धेरै नेपाली बेरोजगार भएका छन्।

भारतको नयाँदिल्ली, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायतका ठाउँमा समेत उद्योग, कलकारखाना, होटेल, गेस्टहाउस, ट्रान्सपोर्ट, कुकको काम गर्नेमा बढी नेपाली रहेको बताइन्छ। भारतको सिमला क्षेत्रमा स्याउ टिप्ने काममा पनि धेरै नेपालीले काम पाउने गरेको बताइएको छ।

भारतमा कति नेपालीले रोजगारी गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क कसैसँग नभए पनि सुदूरपश्चिम प्रदेशको जनसङ्ख्याको करीब २५ प्रतिशत नेपालीले भारतमा काम गरिरहेको अनुमान छ। कोरोना महामारीसँगै काम गरिरहेकामध्ये झण्डै २० प्रतिशतले रोजगारी गुमाउनु परेको जनाइएको छ।रासस

प्रकाशित मिति: : 2021-07-07 15:41:00

प्रतिकृया दिनुहोस्