कम्पनीले खाेप लगाएर मात्रै काममा फर्किनू भनेपछि पीरमा श्रमिक- 'सरकार, कि भ्याक्सिन देऊ, कि जागिर देऊ'

शिलापत्र

काठमाडौँ

 रमेश भारती

गत चैतमा साउदीबाट केही महिनाकाे बिदामा आएका काठमाडौंका जीवन श्रेष्ठकाे साउदी फर्किने बेला घर्किन लाग्याे । तर, कोभिडविरुद्धको खोप लगाउन नपाएकाले उनी काममा फर्किन पाएका छैनन् ।  

खोपको एउटा डोज भए पनि लगाएर मात्र फर्किन उनकाे कम्पनीले भनेकाे छ । 'तर, नेपालमा कोभिड खोप लगाउन कम्पनीले भनेजस्तो सजिलो कहाँ छ र ?', भ्याक्सिन लगाउन नपाएकैले बेलैमा फर्किन नपाएकाेमा जीवन चिन्तित छन् । साउदीको ठूलो शहर रिहादको आइसक्रिम उत्पादक कम्पनीमा काम गर्दै आएका उनी कोभिड खोप लगाउन नपाएकै कारण जागिर उम्किने चिन्तामा छन् ।

जीवन त प्रतिनिधि पात्र मात्र हुन्, विदेशबाट घर बिदामा आएका थुप्रै नेपाली श्रमिकलाई सरकारले कोभिड खोपकाे प्रथामिकतामा नराख्दा रोजगारी गुम्ने पिर छ । ‘सरकारले स्वदेशमै रोजगारी दिन सक्दैन । त्यही भएर ४५ डिग्रीको घाममा काम गर्न जानुपरेको छ । अर्कातिर घरबिदामा आएका कामदारलाई कोभिड खोप उपलब्ध नगराएर भएकाे रोजगारीसमेत खोसिदिँदै छ’, जीवनले भने । साउदी सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीभन्दा पछाडि श्रमिकलाई प्रथमिकतामा राखेर कोभिड खोप लगाएको उनको भनाइ छ । 

हेटाैँडाका ललित पौडेलको समस्या पनि उस्तै छ । कुवेतमा फलाम कम्पनीकाे सुरक्षा गार्डमा कार्यरत पौडेल गत फागुनमा  केही महिनाका लागि नेपाल आएका थिए । कोभिड खोप लगाउन नपाएका कारण उनी कुवेत फर्किन पाएका छैनन् । 

प्रकाशित मिति: : 2021-07-07 12:23:00

प्रतिकृया दिनुहोस्