युएईमा कार्यरत नेपालीले पठाए ४७ लाख रुपैयाँको पिसिआर कीट

संयुक्त अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपालीहरुले ४७ लाख रुपैयाँ बराबरको ५९ हजार  थान  पिसिआर कीट खरिद गरेर नेपाल पठाएका छन।

अबुधाबीस्थित नेपाली दूतावासको संयोजकत्वमा संचालित मातृभुमी सहयोग अभियानबाट संकलित रकमबाट खरिद खरिएको पिसिआर कीट आज बिहान नेपाल पठाईएको हो।

नेपाल एयरलाईन्सको बिहान ०३:५५ बजेको उडानबाट ती सामाग्री काठमाडौ पठाईएको नेपाली समाज युएईका महासचिव बेदप्रसाद अर्यालले बिएल नेपाली सेवालाई जानकारी दिए।

युएईमा क्रियाशिल नेपाल एसोसिएसन, एनआरएनए, नेपाली समाजसंग संवद्द विभिन्न संघसंस्था तथा विभिन्न राजनीतिक दलका प्रवाश संगठनहरुले संयुक्तरूपमा संकलन गरेको रकमबाट कीट खरिद गरिएको नेपाली समाजका अध्यक्ष गोविन्द ढकालले बताए। उनले यी किटहरु सातवटै प्रदेशमा वितरण गरिने जानकारी दिए। 

गएको मे १७ बाट संचालन गरिएको मातृभुमी सहयोग अभियानले शुरूवातमा भ्याक्सिन खरिद गरि नेपाल पठाउने बताएको थियो। भ्याक्सिन खरिदको कानुनी प्रक्रिया झन्झटिलो देखिएकाले प्राथमिकताका आधारमा पिसिआर परिक्षण कीट खरिद गरिएको नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्। 

आर्थिक संकलन समितिले गएको सोमबार दुबईमा एक कार्यक्रमको आयोजना गरि प्रदेशगत रूपमा छुट्याईएका ४९ कार्टुन कीट नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। नेपाल एयरलाईन्सले कार्गो खर्च आफै व्यहोरेर लगेको कीटहरु आज (बुधबार) नै स्वास्थ मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई बुझाईने बताईएको छ।

यसैगरी अबुधाबीस्थित नेपाली दूतावासले मातृभुमीलाई संकट परेको बेला युएईमा कार्यरत नेपालीहरुले देखाएको एकता र सहकार्यको प्रसंसा गरेको छ। युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले भने,‘मातृभुमी दुखेको बेला हार्दिकता र उदारतापुर्वक सहयोग गर्ने नेपाली समुदायप्रती आभार प्रकट गर्दछौँ।’ 


नेपालमा पिसिआर कीट पठाउन खाडीका नेपालीले उठाए ४७ लाख रुपैयाँ 


अरबमा कार्यरत नेपालीले सुरु गरे 'मातृभूमि सहयोग अभियान'

प्रकाशित मिति: : 2021-07-07 09:06:00

प्रतिकृया दिनुहोस्