भारतः सभामुखलाई दुर्व्यवहार गर्ने भाजपाका १२ सांसद निलम्बित

Photo : NBT
Photo : NBT

भारतको महाराष्ट्र राज्य विधानसभाका १२ जना सांसद एक वर्षका लागि निलम्बनमा परेका छन्।

सदनमा हुलदंगा गर्ने भारतीय जनता पार्टी (भाजपा)का १२ सांसदलाई सभामुख भास्कर जाधबले आज (साेमबार) निलम्बन गरेका हुन्।

महाराष्ट्र विधानसभाले सन्जय कुटे, आशिष शेलार, अतुल भातखलकर, पराग अदवानी, विजय कुमार रावल, अभिमन्यु पवार, गिरीश महाजन, हरिश पिपले, राम सातपुते, योगेश सागर, नारायण कुते र किर्ती कुमार बन्डियालाई एक वर्षका लागि निलम्बन गरेको छ।

विधानसभा चलिरहेका बेला सभामुखलाई दुर्व्यवहार गर्ने सांसदमाथि कारबाही गरिएको बताइएको छ।

मुख्यमन्त्री उद्धव ठाकरे नेतृत्वको सरकारलाई तालिबानी शैलीमा अघि बढिरहेको निलम्बित सांसद आशिष शेलारले बताएका छन्।

सभाले भाजपा सांसदलाई निलम्बन गरेपछि पूर्वमुख्यमन्त्री तथा प्रतिपक्ष दलका नेता देवेन्द्र फडणवीले आरोप मात्रै भएको बताएका छन्। उनले भने, ‘यो झूटो आरोप हो। भाजपाले कसैलाई दुर्व्यवहार गर्दैन।’

निलम्बनमा परेका भाजपा सांसदहरूले आरक्षण मुद्दालाई लिएर सदनमै कुटाकुट तथा सभामुखमाथि दुर्व्यवहार गरेका थिए।

प्रकाशित मिति: : 2021-07-05 17:34:00

प्रतिकृया दिनुहोस्