जुम्लीहरू ‘सीडीओ’ दुर्गा बन्जाडेलाई सम्झिरहन्छन्

तिथि मिति याद छैन। त्यसकाे खास जरुरी छ जस्ताे पनि लाग्दैन। याद आयाे, लेख्न बसिदिएँ।

मिति याद भएन, र पनि लेख्न छाेडिनँ। याद आउनलाई ढाेका खुला हुनु पर्दैन। झ्याल खुल्नु पर्दैन। दिल खुला भए पुग्छ। चैतमा हुरी आउनु र याद आउनु मेरा लागि उस्तै हुन्। हुरी नचली बसन्त पनि त आउँदैन नी !

उनलाई म र पुष्पा भेट्न आउँदैछाैं भनेकाे थिएँ। उनलाई पुष्पा काे हाे? थाहा थिएन। परिचय दिदा पनि मेसाे पाइनन्। कुरा हुँदै जाँदा उनले बुझिन् र शुभकामना दिइन्।

त्यसबेला उनकाे एउटा 'मिशन' थियाे। त्यसमा हामी सबैकाे साथ खाेजिरहेकी थिइन्। हाम्राे मात्र हाेइन, अदृश्य शक्तिकाे पनि साथ खाेज्ने प्रयत्न उनीबाट भएकाे थियाे। मतलब देउता र भगवानलाई पनि सँगै लिएर उनले 'मिशन' चलाइन्।

दैलेखमा गएकाे २५ वर्षको अवधिमा १३ जना महिला छुई गोठमा मर्दा, अछाममा १३ वर्षको अवधिमा १४ जना महिलाले अकालमा ज्यान गुमाउँदा पनि सरकार मस्त सुतेकाे थियाे। पछिल्लो दशकमा हरेक वर्ष एक वा दुई महिलाले छुई गोठमा अकालमै मृत्युवरण गर्दा पनि, अधिकारकर्मी र संचारमाध्यमले बहस चलाइरहँदा पनि सरकारकाे चेत खुलेन।

जब अछाम साँफेबगर नगरपालिका- ३ कि पार्वती बुढा रावतको छुई गोठमा ज्यान गयाे, तब 'धाै-धाै' खुलेकाे सरकारी चेतले छाउगाेठ भत्काउन र छुई कूप्रथा अन्त्य गर्न निर्देशन दियाे। याे निर्देशन कत्तिको परिपक्व थियोे, त्यसकाे समीक्षा गर्दै गराैंला। अभियानकाे अच्छा पालक थिए, जिल्ला-जिल्लामा खटिएका सीडीओहरु।

जुम्लामा सीडीओ थिइन्, दुर्गा बन्जाडे। जुम्लाकाे इतिहासमा पहिलाे महिला सीडीओ बनेकी उनलाई जुम्ली जनताकाे न्यानो आश्रय मिल्याे। तथापि जनताकाे सेवककाे रुपमा खटिएका सरकारी कर्मचारीकाे कुनै लिंग नहुने उनकाे मत थियाे।

अन्य जिल्लाकाे सिडिओहरु छाउगाेठ भत्काएर ध्वस्त गरिरहेकाे बेला उनी देउताकाे चित्त शान्ति गर्न लागेकी थिइन्। भगवानकाे आरधानामा व्यस्त थिइन्। तथापि अदृश्य शक्ति उनका विश्वासपात्र थिएनन्। तर आम जुम्लीले वर्षाैंदेखि मानेका हुनाले उनैलाई माध्यम बनाइन् र सफलता पाइन्। त्याेसँगै मुलधारका संचार माध्यममा लेखेर अभियानकाे सार्थकता पुष्टि गरिन्। देउता, तिनका ढाेका पाले धामी र भगवानका भक्त पुजारी सम्मलाई साथ लिनुकाे राज खाेलिन्।

त्यहीबेला उनी आफैले छुई नमानेकाे र त्यसले आफ्नाे जीवनमा कुनै असर नगरेकाे बताइन्। यसले गाउँघरका महिलाकाे पनि दिमागी ढाेका खुल्दै थियाे। डरकाे मनाेविज्ञानले जुम्ली महिलाकाे दिमागमा लगाएकाे भाेटे ताल्चा खुलाउने उनकाे आफ्नै अनुभव थियाे।

उनी व्यापारी घरानाकी हुन्। छुई मान्ने चलन उनकाे टाेल छिमेकमा पनि थियाे। त्यसै अनुरुप घरमा छुई बस्ने छुट्टै कोठाकाे व्यवस्था मिलाइएको थियाे। उनी बिहान छुई भएपछि दिनभर घरपरिवारसँग बसेर साँझ मात्र महिनावारी भएको थाहा दिएर त्यो कोठामा सुत्न जान्थिन्।

त्यसैबेला उनले समाजलाई ढ्याँग्राे ठाेक्ने प्रश्न निर्माण गरिन्। दिनभर घरपरिवारलाई छुँदा कसैलाई केही नभएपछि विश्वास बलियो भयाे। डरको मनोविज्ञान कमजोर बन्दै गयो। 'ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ' भने जस्तै कमजोर हुँदै गएको डरको मानेविज्ञानलाई पूर्णरुपले निमिट्यान्न पार्ने साहस छुई हुँदा घरपरिवारसँगकाे बसाइँबाट जुट्याे।

उनले टोल-छिमेक सबैको अगाडि भनिन्, 'म छाउ मान्दिनँ। जसले जेसुकै भनोस्।' टोलछिमेकका सबैले उनलाई 'त्यसो नगर, यसको असर एक न एक दिन अवश्य देखिन्छ' भन्दै  खुब डर देखाए। के मतलब? उनले डरलाई नै मज्जाले हिर्काइसकेकी थिइन्। त्यसपछि सबैले हारेर भने, 'त्योसँग सकिदैन। तर अरुले बार्नुपर्छ।'

उनलाई गलत भन्दै अरुले जे भन्यो त्यही ठिक छ भनेर छुई बार्ने उनका साथीहरुले उनी सीडीओ भएपछि 'तिमीले हाम्रो गाउँ-ठाउँको इज्जत राख्यौं। हामी सबै मिलेर तिमीलाई सम्मान गर्छौं' भनी प्रस्ताव राखे।

जतिबेला उनी ती साथीहरु सँगसँगै पढ्दै थिइन्, त्यतिबेला उनका साथीहरुको पढाइ राम्रै थियो। तर, समय बित्दै जाँदा उनीहरु महिनामा एकपटक कक्षाकाेठाकाे हाजिरीमा गयल हुन थाले। पछि भेट हुँदा कोही फूपूको घर, कोही सानिमाको घर, कोही ठूली आमाको घर त कोही मामाको घर गएको बताउँथे।

यसरी महिनामा एकपटक कक्षामा गयल हुने उनीहरुको जीवन आज केलाउँदा कोही कहीँ गएका थिएनन्। उनीहरु महिनावारी भएकाले महिनामा एकपटक हराउँदा रहेछन्। महिनावारीमा किताब छोए पाप लाग्छ भन्ने डरको मनोविज्ञानका कारण उनीहरु मामा, फूपू, सानिमा, ठूलीआमा आदिको घर गएको अभिनय गर्दा रहेछन्। परिणाम उनीहरुको राम्रो पढाइ, बिग्रँदै गयो।

स्कुलमा सँगै पढ्दा स्वतन्त्रतापूर्वक जीवन जिउने सपना देखेका साथीहरु जुन दिन छुई भएर डरको मनोविज्ञानले उनीहरुलाई छाउगोठ पुर्‍यायो, त्यही दिन उनीहरुको स्वतन्त्रताको सपनामा कालो बादल लाग्यो। त्यतिबेला छुई गोठ छिरेर पढाइको प्रगतिमा ताला पट्केका उनीहरु आज कोही बच्चा स्याहार्दैछन्, कोही लोग्नेको भरमा जीवनको पाँङ्ग्रा गुडाइरहेका छन्। थाहा छैन अरुको भरमा सधैँ गुडिरहने जिन्दगीका पाँङ्ग्रा कुन दिन कहाँ गएर ठक्कर खान्छ र सधैँको लागि उठ्न नसकिने गरि पछारिन्छ !

जिन्दगीको हिसाब त्यतिबेला भयाे, जतिबेला उनी जुम्लाकाे सीडीओ थिइन्। सायद, कक्षामा उपस्थित हुने उनका साथीहरुकाे दर महिना-महिनामा घट्दैनथ्यो भने, पढाइ कमजोर हुँदैन थियो भने उनीहरुले पछाडि फर्कनुपर्ने थिएन। साथीहरुकाे इज्जत जोगाइदिएको भनेर उनलाई सम्मान गर्नुपर्ने अवस्था आउँदैन थियाे।

पितृसत्ताको सोचले कसैलाई बाँकी नराख्न तम्सिने यो समयमा 'आफ्नो इज्जत अरु कसैको प्रगतिले होइन आफ्नै प्रगतिले जोगाउनु पर्छ' भन्ने कुरा बुझ्ने मौका नै उनका साथीहरुले पाएनन्। त्यसबेला पश्चाताप बाहेक केही बाँकी थिएन।

उनले पुष्पालाई पनि आफ्नाे अनुभूति सुनाउन लगाइन्।

आफ्नी आमाले छाेरी मात्र जन्माइ छाेरा जन्माउन नसकेकाे एकाेहाेराे अपुष्ट र तथ्यहिन आराेप लगाउँदै अर्काे बिहे गरेर आमालाई दुख दिएका पुष्पाका बुबा देउताका फुलपाते हुन्। उनलाई बाबुले अन्याय गर्दा नदेखेकाे देउताले महिलालाई छुई भएकाे देखेर दु:ख दिदैनन् भन्ने लाग्याे। यही कुरा उनले आफ्नी आमालाई बारम्बार सुनाइन्। परिणाम छुइ भएकाे बेला पूजाकाेठामा समेत आउजाउ सम्भव भयाे।

बाबुलाई गरेकाे प्रश्नबाट समाजमा राज गरेकाे डरकाे मनाेविज्ञानलाई परास्त गर्ने साहस त्यसैबाट आएकाे थियाे। यही विषयमा उनले अन्नपूर्ण पाेष्टमा पहिलाे छाउगाेठकाे अनुभूति लेखिन्। नयाँ बहस छेडिन्।

याे कुरा सीडीओलाई मन परेकाे थियाे। उनी चाहन्थिन्, हामी सबैका साझा अनुभूतिले महिलाहरुकाे डरलाई साहसमा बदल्न सकिनेछ। त्यसैले याे अभियानमा सँगै हिडाैं। राजधानीमा चलिरहेकाे पुष्पाकाे पढाईकाे कारण याे सम्भव हुन सकेन। उनले सकेजति गरिन्। छुई मान्नु हुँदैन भनेर सार्वजनिक मञ्चमा देउता र भगवानका दूतहरुलाई नै भन्न लगाइन्।

याे अभियानकाे विभिन्न तवरबाट आलोचना र समर्थन दुबै भयाे। सायद याे नै अभियानकाे सबैभन्दा ठूलाे सफलता थियाे। त्यसयता गाउँघरमा छुई प्रथाले के कस्ताे रुप लिएकाे छ? यी विषयमा अध्ययन हुन बाँकी नै छ। तथापि यसले उनलाई पछिसम्म जुम्लीहरुले सम्झिरहने बनायाे। त्यसैले चैतकाे हुरी चलेसरी उनकाे याद आइरहन्छ।

 

एउटा मात्र कारण हाेइन अनेक कारण छन् जसले उनलाई जुम्लीहरु बारम्बार सम्झिरहन्छन्। जसरी बिहान-साँझकाे खाना छुट्दैन, त्यसरी नै उनकाे याद छुट्दैन।

सत्ताले संघीयताकाे मूल मर्मलाई तिलाञ्जली दिदै स्थानीय तहकाे भूमिकालाई शून्य बनाउन प्रमुख जिल्ला अधिकारी संरचनालाई अधिकार दिएकाे भए पनि उनीमा त्यस्ताे दम्भ थिएन। उनी समन्वयलाई पहिलाे हतियार बनाउँथिन्। आफूलाई शासकभन्दा पनि सेवककाे भूमिकामा उभ्याँथिन्। त्यसैले त जुम्ली ह्वाइनी मान्ठ(महिलाहरु] उनकाे हात समाउँदै निर्धक्क भन्थिन्, 'हाम्मी सीडीओ।'

महिलाहरुका बीचमा सहजै उपस्थिति जनाएर सीडीओ पनि उनीहरुजस्तै हुन् भनी देखाउने उनकाे कलाले कर्मचारीहरु शासक हाेइनन्, जनताकाे सेवक हुन् भनेर प्रमाणित गरिदिइन्। दुखमा परेका महिला बिनाराेकताेक उनकाे कार्यकक्षमा उपस्थित हुन्थे र आफ्ना सास्याहरु निर्धक्क सुनाउँथे।

दूधे बालक लिएर प्रशासनकाे सेवा लिन आउने महिलाका दुखलाई उनले नजिकबाट नियालिन्। यसरी हुँदैन भनेर जिल्लाका सबै कार्यालयमा 'स्तनपान कक्ष' स्थापना गरिन्। मध्यरातमा कतै आगलागी हुँदा हाेस् वा गाडी दुर्घटना हुँदा, उनी आफै पग्थिन्। पीडितकाे घाउमा मलम लगाउँथिन्। रामायणमा बालीकाे कुटाइबाट क्षत-विक्षत शरीरमा रामले स्पर्श गर्दा ताजा भएकाे सुग्रिवकाे शरीरझैं पीडितहरु राहत महशुस गर्थे।

कुलतमा फसेर लठ्ठ भएका युवाहरुलाई मुक्त गराउन 'ड्रक्स माफिया'को जालाे भत्काउने उनकाे अभियान सफल भएकाे थियो। नागरिकहरुले आफ्नै भाषामा आफूले पाउने सेवाबारे जानकार हुने संयन्त्र निर्माण गरिएकाे थियाे।

नगरपालिकाले आफ्नाे भूमिका भुलेर बजार सफा गर्ने कर्तव्यबाट विमुख हुँदा युवाहरु फाेहाेर सफा गर्न निस्कन्थे। उनीहरुसँगै झाडू समाएर हातेमाले गर्ने बानीका कारण युवाहरु आज पनि उनलाई सम्झिरहन्छन्।

यसाे गरिरहँदा जनताकाे करबाट पालिएका कर्मचारीहरु उनलाई 'सेलिब्रेटी' हुन खाेजेकाे भन्दै अपमानकाे बिल्ला भिराउन खाेज्थे। उनी आवेग र उत्तेजनामा आलाेकाचाे जवाफ दिन्नथिइन्। मुस्कुराउँदै फाेहाेरकाे थुप्राेनजिक पुग्थिन् र सन्देश दिन्थिन्- 'काम गर्न मन सफा हुनुपर्छ।'

उनले कर्मचारीकाे कुनै लिंग हुँदैन भनिरहँदा फेरि पनि जुम्लामा महिला सीडीओ आउँदैछिन्। उनीबाट पनि जुम्लीहरुकाे अपेक्षा उही छ। विषेश गरि जुम्ली महिलाहरु पुराना दिन फिर्नेमा आशावादी भइ बसेका छन्।

प्रकाशित मिति: : 2021-07-04 17:40:00

प्रतिकृया दिनुहोस्