माधव नेपालद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी छलफल गर्न अस्वीकार गरेका छन्। नेता नेपालले आफ्नो निवासमा निकासका लागि छलफल गर्न आएका अध्यक्ष ओलीनिकट नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शङ्कर पोखरेललाई यस्तो जवाफसहित फर्काएका हुन्।
सर्वोच्च अदालतको फैसलाअघि नै एमालेका नेपालसहित ‘समानान्तर समूह’ मा लागेका सो रिटका निवेदक २३ जना विघटित प्रतिनिधिसभा सदस्यको सो मुद्दाबाट नाम फिर्ता लिने र सहमतिका साथ अघि बढ्ने प्रयासमा एमालेको संस्थापन पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास, कोटेश्वर पुगेका थिए।
नेपालले भने अदालतको आदेशअघि उक्त हस्ताक्षर फिर्ता हुन नसक्ने बताउँदै त्यसलाई कायमै राखेर सहमति गर्ने हो भने आफू तयार रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले शनिबार स्वयम्ले टेलिफोनमा कुराकानी गरेका थिए। नेपाल समूहका अधिकांश माग सम्बोधन भइसकेको बताउँदै ओली पक्षका नेताहरुले अध्यक्ष ओली र नेपालबीच छलफल गरी सहमतिमा पुग्न र अदालतबाट हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको एक सहभागी नेताले जानकारी दिए।
बैठकपछि उपप्रधानमन्त्री, अर्थ एवम् गृहमन्त्रीसमेत रहेका एमाले उपमहासचिव विष्णु पौडेलले सञ्चारकर्मीसँग भने, ‘हामीले समाधान खोजेर अगाडि जाऊँ भन्यौँ। पार्टी अध्यक्ष र तपाईंबीच मिटिङ होस् भन्ने हामी चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ। प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुचि प्रकट गर्नुभयो। ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौँ।’
पौडेलले नेता नेपालसँग केही बेर कुराकानी भएको बताए। उनले भने,'उहाँसँग एकछिन कुराकानी भयो। हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन्। पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ भनेर प्रस्ताव राख्यौँ। तपाईंहरू एक–आपसमा बस्नुहोस् भन्यौँ।’
एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्ममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट एमालेका विघटित प्रतिनिधिसभाका सद्स्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको थियो। सोहीबमोजिम एमालेको कार्यदलमा रहेका नेताहरु सक्रिय भएका हुन्।