जनयुद्धले जन्माएको अस्पताल र नमूना मै सीमित घोर्नेटी

१० वर्षे जनयुद्धले जन्माएको जन–नमूना अस्पताल रोल्पाको माडी गाउँपालिकास्थित घोर्नेटीमा रहेकाे छ।

लाखौँ जनताको पसिनाले उभिएको याे 'स्तम्भ' जनयुद्धको समयमा अनौठो परिकल्पनासहित निर्माण कार्यको सु–भारम्भ गरिएकाे थियाे।

तत्कालीन नेकपा माओवादीले घोर्नेटीलाई देशकै नमूना बनाउने सपनासँगै ठूलो जन–परिश्रम र अतुलनीय मेहनतका साथ ठाउँ–ठाउँका नागरिकलाई स्वैच्छिक, अनिवार्य र विभिन्न कारबाहीको सजाय स्वरुप जवर्जस्त खटाएर निर्माण सम्पन्न गरेको थियो।

एकातिर बम र बारूदको दबाब, अर्कोतिर सिटामोलको अभाव खेपिरहेकाे त्याे समय। जहाँ लाखौँ जनताको परिश्रमले आँगनमै ठूलो अस्पतालबाट उपचार पाउने आशा थियो। तर त्यो आशा निराशामा परिणत हुन पुग्यो।

करोडौंको मेहनत र लगानीमा आधुनिक संरचना निर्माण भइ २०६३ साउन १३ गते जन–नमूना अस्पताल उद्घाटन भयाे।

तत्कालीन माओवादीका नेताहरू कृष्णबहादुर महरा, पोस्टबहादुर बोगटी, असारे काकालगायतको उपस्थितमा जनताको उत्साहजनक सहभागीता देखिन्थ्याे। देशकै ठूलो र सुविधा सम्पन्न अस्पतालको रूपमा जन–नमूना अस्पतालकाे विकास हुने अपेक्षाले स्थानीयहरू हर्षित थिए।

बिडम्बना उनै नेता पटक-पटक चुनावताका यहीँ बाटाे हिँडे। तर दुईदशक हुन थाल्यो घोर्नेटीले कुनै मुहार फेर्न पाएन।

कुनै समय नर्वेका डा. हमितलाई जन–नमूना अस्पतालमा खटाइएकाे थियाे। र यस क्षेत्रका जनताले उपचारकाे राम्रो सुविधा पाए। स्थानीयहरू भन्छन्, 'नेताको बोली अनुसार धोका खाइयो। जनताकाे सपनामाथि घात गरे।'

सुविधा सम्पन्न र सर्वसुलभ नमूनाको आश्वासन खोकेको र सोचेको घोर्नेटी अहिले सुनसान बनेकाे छ। कुनै समयकाे भव्य अस्पताल पछिल्लाेपल्ट कसैले नचिन्ने अवस्थामा 'स्वास्थ्य इकाइ केन्द्र'मा विलय भएको छ।

कसैलाई लाग्दाे हाे– एमाले, कांग्रेसकाे व्यवहार 'सौतेनी' छ। उनीहरूले जन–नमूना अस्पतालकाे विकासका लागि हेर्दै हेरेनन्। उनीहरूले घोर्नेटी अस्पताल नदेखे झैँ गरेकाे पक्का हाे। तर आफ्नो जन्मसरह थालनी गरेको अस्पताललाई माओवादीले पनि पटक्कै हेरेन। उहीँ माओवादीबाट जिल्लाकै प्रतिनिधित्व गरी पटक-पटक मन्त्री, सांसद भए पनि आस मात्र फेर्यो सास फेर्न सकेन।

घोर्नेटी अस्पताललाई स्थानीय तह अर्थात् तल्लो निकायले ध्यान नदिएकाे भने होइन। स्थानीय तहकाे पहलमा सानो टालो हाल्ने काम भए पनि संघीय र प्रदेश सरकारको आँखा पटक्कै पुग्न सकेको छैन।

अस्पताल भत्किन थालेकाे छ। संरचना पनि जीर्ण र अव्यवस्थित बन्दै गएको देखिन्छ। उपचारको पहुँचबाट दुर रहेका जनताले कुनैताका देखेकाे सपना अर्थात् सफल उपचार पाउन सकेका छैनन्।

अस्पतालकाे अवस्थाबारे सरकारको ध्यानाकर्षण गर्न र घोर्नेटीको प्रवर्द्धनमा टेवा पु-याउन स्थानीय सामाजिक संस्था माडी एकता युवा क्लवले भब्य महोत्सवको आयोजना ग-याे। स्थानीय तहदेखि निर्वाचित सांसदसम्म पुगे। उनीहरूकाे ध्यान पनि गयो। लगतै कार्यपालिका बैठक समेत बस्यो। तर तीनै तहको चासो विल्कुनै देख्न सकिएन।

अनेकन सपनाले पनि फेरिएन घोर्नेटी, आजपनि उस्तै दुःख भाेगिरहेकाे छ। फेदमा कलकल बग्ने छहरा, काखमा बाङ्गेताल, शीरमा खागिलधुरी जस्ता चर्चित पर्यटकीय स्थलमा सबैको ध्यान जाओस्। १० वर्षे जनयुद्धले जन्माएको जन–नमूनालाई भव्य अस्पतालमा रूपमा देख्न पाइयाेस्।

प्रकाशित मिति: : 2021-07-04 09:29:00

प्रतिकृया दिनुहोस्