'द न्यूयोर्क टाइम्स'ले हिन्दू र मोदीविरोधी संवाददाता खोजेपछि...

अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विचारको विरोध गर्ने पत्रकार खोजेपछि समर्थकहरू पत्रिकाविरूद्ध उत्रिएका छन्।

टाइम्सले गत जुलाई १ मा दक्षिण एसिया संवाददाताको विज्ञापन खोलेकाे थियाे। विज्ञापनमा मोदी विचारधाराको आलोचकलाई स्थान दिने स्पष्ट पारेपछि हिन्दू सर्मथकले पश्चिमी मिडियाविरूद्ध अभियान नै थालेका छन्।

पत्रिकाले खोजेकाे मोदी विरोधी दक्षिण एसिया संवाददाताले नयाँ दिल्लीबाट रिपोर्टिङ गर्नेछन्।

जी–न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टेलिभिजन कार्यक्रम 'डीएनए'मार्फत् खरो रुपमा न्यूयोर्क टाइम्सकाे विराेध जनाएका छन्। 'गोदी मिडिया'को उपमा पाएको जी–न्यूजले मोदीको बारेमा लामो चर्चा गर्दै कार्यक्रमभर पत्रिकाको टिका–टिप्पणी गर्‍यो।

‘पश्चिमी मिडिया भारतविरुद्ध प्रपोकान्डा मच्चाउन कुनै पनि मौका छाड्दैनन्। चाहे किसान आन्दोलन होस्, चाहे चीनसँगको सीमा विवाद या भारतमा हुने कुनै पनि दंगा नै हाेस्', सुधीरले टेलिभिजनमार्फत् भने, ‘पश्चिमी मिडियाले भारतको छवि बिग्रार्न पूरा बल प्रयोग गरेको छ। यो सब स्वतन्त्र पत्रकारिता र धर्म-निरपेक्षताका नाममा भइरहेको छ। आखिर यस्तो किसिमको एजेन्डावाला पत्रकारिता गर्ने व्यक्ति न्यूयोर्क टाइम्सको समाचार कक्षमा कहाँबाट पुग्छन्?’

मोदी समर्थक पत्रकारहरूले भारतको कूभलो सोच्ने ‘द न्यूयोर्क टाइम्स’ पत्रिका बहिस्कार गर्नुपर्ने रायसमेत व्यक्त गर्न थालिसकेका छन्। जी–न्यूज, आजतक जस्ता थ्रुपै टेलिभिजनले ‘द न्यूयोर्क टाइम्स’ भारतमा टुक्रे–टुक्रे समूहको सबैभन्दा ठूलो अड्डा बनेको आरोप लगाएका छन्।

किन पत्रिकाविरूद्ध उत्रिए मोदी समर्थक

‘भारतको भविष्य यस समय दोबाटोमा उभिएको छ, कारण भारतीय प्रधानमन्त्री मोदी। उनले देशमा हिन्दू बहुमतको आधारमा आक्रामक राष्ट्रवादको बढावा दिइरहेका छन्। प्रधानमन्त्री मोदीको यस्तै नीति भारतको विविधतामा एकतासहितको संस्कृतिका लागि खतरानाक बन्न सक्छ। भारतमा सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने काम भइरहेको छ। जसले देशको भविष्यमा गम्भीर सवाल खडा गरेको छ।’ 

न्यूयोर्क टाइम्सले यो वाक्य कसैको विचारमा नभई, दक्षिण एसिया संवाददाताको विज्ञापनमा लेखेको छ। विज्ञापनमा मोदी र हिन्दू विरोधी पत्रकारको आवश्यकता रहेको स्पष्ट रुपमा उल्लेख गरिएको छ।

यस विषयमा अहिलेसम्म द न्यूयोर्क टाइम्सका दक्षिण एसिया व्यूरो प्रमुख जेफ्री जेटेलम्यानले कुनै प्रतिक्रिया दिएका छैनन्। 

प्रकाशित मिति: : 2021-07-03 14:15:00

प्रतिकृया दिनुहोस्