कतै मान्छेको समूह जम्मा भएको देख्नु हुन्न, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ अन्तर्गत जिउँ गाउँकी युवती कृष्णा बिकलाई आफ्नो प्रतिभा देखाउने हुट्हुटी चल्छ।
शायद् जीवनको सपना भएरै होला, लाज–धक केही नमानी आफ्नो प्रतिभा देखाई हाल्छिन् उनी।
गोठालो जाँदा होस् या मेलापातको काम निस्कँदा, उनी गीत गाइहाल्छिन्। आफ्नो स्वरले अरुलाई मन्त्रमुग्ध पार्छिन् उनी। सल्ला, धुपी र देवदारका घना जङ्गल उनको स्वरले गुञ्जायमान हुने गर्दछ।
जहाँ जस्तोसुकै परिस्थितिमा पनि गीत गाउन सुरु गर्नुको पछाडि कृष्णाको आशा लुकेको छ– आफ्नो गायन सुनेर कसैले सानैदेखिको सपना साकार पार्न सहयोग गर्छन् कि भन्ने।
आफ्नो स्वर सुन्नेहरुबाट कस्तो प्रतिक्रिया आउँछ, उनलाई त्यसको खासै मतलब पनि लाग्दैन तर जतिले कृष्णाको स्वरमा गीत सुन्छन्, सबैले उनको तारिफ गर्ने गरेका छन्। उनलाई हौसला दिन्छन्, ‘गायन क्षेत्रमा प्रचूर सम्भावना छ, गाउने गर।’
कतिपयले त तुरुन्तै काठमाडौं गएर गीत रेकर्ड गराउन पनि सुझाव दिएका छन्। स्रोताबाट पाएको सकारात्मक प्रतिक्रियाले कृष्णा देखावटी रुपमा खुशी त हुन्छिन् तर उनको अन्तरआत्मा भने खुशीभन्दा दुःखले पिरोल्छ।
‘मेरो स्वर सुनिसकेपछि सबैले प्रशंसा गर्नुहुन्छ, खुशी पनि लाग्छ तर त्यो खुशी केही समयसम्म पनि टिक्न नपाएर शीतको थोपा झै बिलाएर जान्छ’, कृष्णाले भनिन् भनिन्, ‘अरुले प्रशंसा त गर्नुहुन्छ तर चाहेर पनि गायिका बन्ने सपना पूरा गर्नसक्ने अवस्था छैन। प्रसंशा सुन्दा पनि दुःखै लाग्छ।’
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत जिउँ गाउँको विपन्न दलित परिवारमा २०६० सालमा जन्मिएकी हुन्– कृष्णा। आफ्नो सुमधुर स्वरकै कारण जिल्लाभरि परिचित छिन्।
जिल्लामा बेला–बेलामा लाग्ने मेला वा महोत्सवहरुमा स्थानीय कलाकारको रुपमा उनकै खोजी हुने गर्दछ। त्यति मात्र नभई बेला बखतमा आयोजना हुने चुनावी सभामा पनि कृष्णाको खोजी हुन्छ। मीठो गीतमार्फत् नेताहरुलाई विकासको व्यङ्ग्य दिने कला भएकै कारण उनको खोजी हुने गरेको हो।
लोकभाका गाउँन र दोहोरी लड्न खप्पिस कृष्णाको स्वर सुन्ने जति सबै मन्त्रमुग्ध हुने गर्दछन्। उनको बुवाआमा, दाजुभाउजूसहितको परिवार छन् तर दाजुको सामान्य रोजगारी छ, अरु सबै बेरोजगार छन्।
थोरै जग्गा–जमीनबाटै घरपरिवारको दैनिकी चल्ने गर्दछ। आम्दानी नभएका कारण उनको परिवारले आर्थिक सङ्कट झेल्नुपरेको छ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनको प्रतिभा देश दुनियाँले चिन्न नसकेको उनका आफन्तहरु बताउँछन्। उनको प्रतिभा आफूभित्रै सीमित रहन पुगेको छ। गरीबीकै कारण कृष्णाको कलालाई अगाडि बडाउन नसकिएको परिवारको भनाइ छ।
कृष्णा जिल्लाकै एक गहनाको रुपमा रहेको स्थानीय बालबहादुर बोहोराले बताए। उचित अवसर पाएमा कृष्णाको पनि सपना साकार हुने र जिल्लाको पनि नाम हुनेमा बोहोराको विश्वास छ। गरीब घरपरिवारमा हुर्किएकी कृष्णा आर्थिक अभावकै कारण पछि परेको बोहोराको भनाइ छ।
‘गाउनु लाग्ने मेरो सानैदेखिको इच्छा हो, गाउन त सक्छु तर के गर्नु ! यो पैसाको जमाना रहेछ। यदि हाम्रो घरको आर्थिक अवस्था राम्रो भएको भए अहिलेसम्म गायिका पो बनिसकेकी हुन्थे कि ! गरीब परिवारमा जन्मनु मेरालागि अभिशाप पो हो कि जस्तो लाग्छ’, उनले भनिन्।
भर्खरै कक्षा ११ मा पढ्दै गरेकी छात्रा हुन् कृष्णा। उनी कक्षा ४ मा पढ्दादेखि नै गित गाउन सुरु गरेकी हुन्। ‘म गाउँकै एक आधारभूत विद्यालयमा कक्षा ४ पढ्थेँ। विद्यालयमा कार्यक्रम थियो। सरले सो कार्यक्रममा गीत गाउन भन्नुभो’, उनले वाल्यकालमै पहिलोपल्ट गीत गाएको सुनाइन्, ‘मैले उति बेला नै सबैको ध्यान खिच्ने गरी गीत गाएँछु। त्यति बेलादेखि नै मैले गाउनसक्छु भन्ने थाहा पाएका हुन््, त्यस बेलादेखि नै हौसला पाउँथे। त्यसपछि गाउनमा रुचि पनि बढेको हो।’
अहिलेसम्म कृष्णाले जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमबाट गायन कलामा पहिलो भइसकेकी छिन्। उनले थुप्रै प्रमाणपत्र तथा नगद पुरस्कार पनि प्राप्त गरेकी छिन्।
प्राथमिक शिक्षा आफ्नै गाउँमा पूरा गरेकी उनले हाइस्कुल शिक्षा चाहिँ छिमेकी गाउँ सूँस्थित सरस्वती माध्यमिक विद्यालयबाट पूरा गरेकी हुन्। ‘गरीबीमा गुज्रिएको जिन्दगी सम्झँदा पनि मन धेरै दुख्छ, चाहेर पनि आफ्नो सपना पूरा गर्नसक्ने अवस्थामा छैन्’, उनी भावुक भइन्।
कृष्णाको आफ्नै जग्गाजमीनमा खेतीपातीबाट भएको उत्पादनले मुस्किलले तीन महिना खान पुग्छ। त्यसैले उनको परिवारले भ्याएसम्म अर्काकोमा मजदुरी समेत गर्छन्। ‘यस्तो अवस्थामा कसरी घर छोड्ने र गायिका बन्ने ?’, उनले प्रश्न गरिन।
कृष्णालाई गायिका बन्न सघाउने भनी आश्वासन त धेरैले दिए तर कसैले पनि वास्तवमा सहयोग गरेका चाहिँ छैनन्। उनले भनिन्, ‘कोही कसैले सहयोग गर्नुभएमा मभित्र अझै पनि गायिका बन्ने सपना मरेको छैन। सहयोग पाएमा गायनमा करिअर बनाउने थिएँ।’