मानवीयताको प्रवद्र्धन गर्न चाहिने भनेको नै आध्यात्मिकताको उदय नै हो जुन कोरोनाकालमा देखिएको छ
विश्व इतिहासमा अनेकौं महामारीलेअनेक ढंगले त्राहिमाम पारे। त्यसबारेमा इतिहासमा लेखिएका सत्य, तथ्य कुराहरू पढ्न पाइन्छ। कोभिड–१९को भाइरसबाट बाँचेकाहरूले कोभिडको त्रासदी, कहर, महामारीको विकराल रूप जे भनौं देख्न पायौं, त्यो पनि इतिहासका लागि यो शताब्दीकै कहालीलाग्दो महामारीको रूपमा सम्झना रहिरहनेछ।
कोभिडको नकारात्मक असर कति हो कति भनेरसाध्य छैन। यसले कत्तिको घर रित्यायो, काख रित्यायो, प्रियजन लिएर गयो अनि कतिका अभिभावक। मानिसको आर्थिक, सामाजिक जीवनलाई एक किसिमले भन्ने हो भने तहस/नहस नै बनायो। गाउँ–बस्ती उजाड बनायो। जस–जसलाई मार पर्यो, त्यसको दुःख–पीडा भनेर साँधी छैन। नपर्नेलाई कोभिड केही पनि होइन, सामान्य रुघाखोकी त रहेछ नि! भनेर उडाउनेहरूको संख्या पनि कम थिएन।
कोभिडको पहिलो लहरको बेला अस्पताल अव्यवस्थित थियो भने दोस्रो लहरमा केही व्यवस्थित भयो। पहिलो लहरको बेला अन्योल, आशंका, डर, त्रास थियो भने दोस्रोमा आत्मविश्वास, अनुभव र कतिपय अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी,चिकित्सक, सहयोगी, सुरक्षाकर्मीमध्ये कति कोभिडले ग्रस्त भएर पनि मुक्त भइसकेकाले आँट आर्जन गर्न सफल भइसकेको स्थिति थियो। भविष्यमा कुन रूप र शैली दुख्नु पर्ने हो थाहा छैन। खोजकर्ता वैज्ञानिकहरू पनि अलमलमा छन्। कोभिडले मृत्युशैयामा पुर्याएको आफन्तजनसँग देख/भेट र अनुहार हेर्नसम्म नपाउँदाको पीडा, आफन्तजनको घरमा गई इष्टमित्र, साथीभाइलाई समवेदना दिन नपाउँदा एवं आआफ्नो रीतिस्थिति, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न नपाउँदा कति पीडाबोध भयो होला महसुस गर्न सकिन्छ।
नेपाली धर्म–संस्कृतिमा आआफ्नो रीतिथितिअनुसार कसैले बाह्र–तेह्र दिन किरिया बस्ने, कोही केही दिन कोरा बार्ने गर्छन्, सबै जातजातमा आआफ्नै किसिमका चालचलन छन् त्यो पनि सम्पन्न गर्न नसकेर विधि पुर्याएर दुई–तीन दिनमै पुरोहितको उपस्थितिमा या पुरोहितबिनै जसोतसो पूरा गरेका अवस्था पनि देखियो। के यो हिजोको दिनमा कसैको मनमा आएको थियो यसलाई पनि समाजले स्वीकार्ला भनेर?