यक्ष प्रश्न

कोषौं टाढादेखि बर्षौं लगाएर 
तिमीले लुकाएका एकजोडी संघर्षका कुर्कुचा लुटेर
म तिम्रै अराजक सिसाकलमको मनमौजी वाक्य-
संरक्षचना बिथोल्न आएको हुँ।

भन ओ! शासक ठ्याक्कै यो बेला तिमी
कुन जातकी किशोरीको यौनाङ्ग क्यानभासमा उतार्दै छौं?

तिमीले भित्तामा सजाएका क्यालेन्डरका पानाहरू मा
मैले तिम्रो कुरुप शासनको अन्तिम तिथि देखें 
अब भन तिमी स्वैच्छाचारिताको कति लामो
बिगुल फुक्न सक्छौं?

म तिम्रो भाषाको व्याकरणमा म मेरा जिब्रोको 
उच्चारण अवयबहरू बलात्कृत भएको पाउँछु।
अब भन तिम्रो निजी राज्यमा-
कुन वर्णमाला प्रयोग गरेर
म यौन स्वतन्त्रताको वकालत गरूँ?

मैले तिम्रो मुलुकी ऐनलाई एक घुड्की पिएर
अक्षरहरूको दम्भलाई चाखें
अब भन के इमानदारिताको वर्णमालाले आत्महत्या 
गर्नुपर्ने हो?

तिमीले जुन तरवारले मेरा पैतालाहरू काटेर
विचारहरू लङ्गडो बनायौं
आज त्यो तरवार मेरो आरनमा धारको भिख माग्दै आएको छ।
अब भन म त्यो तरवारलाई कुन अहमताको 'गोल'ले तताएर पिटौं?

तिम्रो खुट्टा र शरीरको विशाल लालपुर्जा मसँग छ।
अब भन तिम्रो अहमताको चोरीऔंलो कहाँ धरौटी राख्छौं?

तिमी जुन संस्कारलाई आस्थाको खाका ठान्छौं
म त्यसलाई मानवताबिरोधी अश्लील तस्तावेज देख्छु।
अब भन अश्लीलताको मुखुण्डो खोल्छौकी
मानवताको पूरक परीक्षा दिन्छौ?

त्यसैले अब सहनशीलताको वस्त्र खोलेर
एउटा नग्नताको यक्ष प्रश्न गर्छु।

ओ! शासक तिम्रो सामन्तवादको दाँत मसँग छ
र तिमी-
आत्मआलोचनात्मक मुस्कानको प्रतियोगितामा छौ
अब भन हाँस्नेकी नहाँस्ने?

प्रकाशित मिति: : 2021-06-30 09:54:00

प्रतिकृया दिनुहोस्