मुदीमा विद्युतीकरण

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरेको हो।

प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिनुभयो। “मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ”, उनले भने, “सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ।”

ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक÷एक सय एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ।

मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो। विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो। खाम्लामा अझै सडक सुविधा छैन।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ। घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए।

विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो। प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालु आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए।

प्रकाशित मिति: : 2021-06-27 07:47:00

प्रतिकृया दिनुहोस्