तिमी आकाश भएपछि
म धर्तीको बबुरो,
कहाँ सक्छु र तिमीलाई छुन
केवल एकटक टोलाएर नियाल्नु बाहेक!
खण्डित मुटुका टुक्रा बोकेर
भगवानको घरको बाटो चलिरहुला,
निसन्देह डढेलोमा म जलिरहुला ।।
भदौको भदौरे झरीमा रुझ्दै
दुर्गम टाकुराको निस्पट्ट छाप्रोमा जन्मिदा,
सहरका माडवाली जत्तिकै प्रसव वेदना त
त्यही छाप्रो भित्र जेईले पनि सहिन् सायद
तर
तिम्रा जस्ता वरिपरि धाईआमाहरु नभई दिदा,
कुपोषणले आक्रान्त यो तन
तिमीलाई चाहिने जत्तिकै खाईलाग्दो कहाँ हुन सक्यो र !
तिम्रो समीप नसुहाउने म,
आकाशलाई छुन नसक्ने भएपछि
धर्तीको बाझो बगरमा सुक्दै सुक्दै,
एकटक आकाशलाई हेरिरहुला !
तिमीले सल्काएको आगोबाट जलिरहुला !!
तिमी उभिने फूलैफूलको बगैंचामा,
तिमी हिँड्ने हरियाली बाटोहरुमा,
तिमीले शयर गर्ने उमङ्गको भरिपुर्ण शहरमा,
टाढैबाट लोभिएर मैले एक पाइला टेक्दा मात्रै
आस्थालाई सञ्जीवनी ठानेर ढुकढुकीमा साच्दा मात्रै,
वात्सल्य प्रेमका तृणहरुलाई ती बगैंचामा रोप्दा मात्रै,
तिम्रो त्यो दिलको बगैंचा सुक्छ भने,
तिम्रो त्यो हरियाली बाटोमा खाल्डो पर्छ भने,
तिम्रो रोजाईको त्यो शहर भत्कन्छ भने,
केवल तिम्रो खुशी र उमङ्गको लागि म छलिइरहुला!
तिमीले छ्यापेको एसिडबाट जलिरहुला!!
तिमीलाई फूल बर्षाउने हजारौंको भिडमा
तिमीलाई डुङ्गा तार्ने माझीहरुको तातीमा
तिम्रो मन राख्ने स्नेहीहरुको पङ्तिमा
तिमीलाई रानी मान्ने बादशाहको राज्यमा,
म फूल बोकेर देउताको पूजा गर्न मिल्दैन भने
मेरो जातको पानी तिम्रो आसनमा चल्दैन भने
त्यो भिडको छेउमा म उभिन नि सुहाउदैन भने
तिम्रा पाइलाको अगाडि मेरो पुकार अबरोध हुन्छ भने
त्यो राज्यमा मेरो समर्पण खरानी हुन्छ भने
तिमीले सजाईदिएको तिरस्कारको चितामा म बलिरहुला ।
तिमीलाई हर्ष छाउने गरि जलिरहुला ।।
म बगरमा ढुङ्गा सङ्गालेर बस्दा,
हजारौं मालीहरु तिमीलाई फूल बर्साएर सजाउछन्
म मरुभूमिमा बालुवाको धुलोले छपक्कै छोपिएर कुरुप बन्दा,
सयौं सहेलीहरु तिमीलाई मेक अप गराउछन्
म मुटुको प्याला निचोर्दै अविरल आशुको भेलमा डुब्दा,
तिमीलाई रोधिघरमा गीत गाउदै डान्स गराउछन्
मैले आस्था, समर्पण र प्यारको याचना गरिरहदा,
तिमीलाई तरवार भिराएर आस्थाको घाँटी रेट्न लगाउछन्
म निस्पट्ट अन्धकार सुरुङभित्रबाटआस्थाको त्यो भगवान पुजिरहेछु
त्यी सुकोमल तिम्रा मनका मान्छेहरुको सामु
मेरो कुरुप छायाँ पनि सुहाउदैन भने,
सुयोगले सिटासन पाउँदा म त्यहाँबाट निकालिन्छु भने,
त्यो सगरमाथाको उचाइको सामुन्ने म बगरमा भासिईन्छु भने,
कुवेरहरुले तिमीलाई भरिपुर्ण बनाउदा,
म सुदामा केवल नेपथ्यमा टोलाईरहन्छु
र टोलाउदा टोलाउदै म जीवनदेखि गलिरहुला ।
तिमीलाई उर्जा थपिने गरि जलिरहुला ।।
तिमीलाई सारथीले उठाएर रथको आसनमा बसाउदा,
म झुपडीको धुरीबाट एकहोरो चियाईरहें
तिमी पानी मिलमा बिस्कुन बोकेर तेर्सो बाटो हिँड्दै जादा,
म बाटोमाथिका घङ्घारुका बोटमा छिप्दै तिम्रा पदचाप नियालिरहें
तिम्रा मन र पाइलाहरु बदलिए भन्ने सुन्दा मात्रै,
बारुदले मान्छे खाईरहेको युगमा पनि बारुदको छेवैबाट
तिम्रो आस्थालाई मुटुमा साँचेर मध्यरातमा दौडिरहें
मैले आस्थाको भगवानलाई चियाउन पनि सुहाउदैन भने,
तिम्रो मनको दोसाँधमा अरुले ठाउँ पाउँदा म अट्दिन भने,
मेरो स्नेहको वेदना देख्दा तिमीलाई अठ्ठहास हुन्छ भने,
मेरो मुल्यहीन समर्पणको सामु अरुकै अस्त्र बहुमुल्य छन भने,
अरुको मखमली माया सामु मेरो प्यार तिउरीको बोट हो भने,
यता तिम्रो उपेक्षामा परेका यी नयनहरु रसाई रहनेछन्
उता तिम्रो आत्मा पाएकाहरु तिमीलाई हसाई रहनेछन्
तिम्रो बारुदको कम्पनबाट आस्था सँगै म ढलिरहुला !
यो झरिको याममा पनि म जलिरहुला !!
तिम्रो उपहासको वस्त्र बोकेर
तिम्रो तिरस्कारको पोको सङ्गालेर
तिम्रो सुहाग मौलाईदिनको लागि
म मसानघाटको बाटो चलिरहुला ।
निसन्देह आगोमा जलिरहुला ।।