सोलुदूधकुण्डद्वारा बनाइयो स्थानीय पाठ्यक्रम

बिएल संवाददाता

सोलुखुम्बु 
Symbolic photo
Symbolic photo

सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ। 

नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाएको नगरपालिकाले जनाएको छ। 

पाठ्क्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले शुक्रबार सो पाठ्यक्रम नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पालाई हस्तान्तरण गरे। 

सो अवसरमा नगरपालिकाका प्रमुख शेर्पाले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको र यसलाई आगामी आर्थिक वर्षदेखि लागू गर्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले नगरभित्रका सबै समुदाय, भाषाभाषी, जातजाति र भेषभूषालाई प्रतिनिधित्व हुने गरी विज्ञ व्यक्तिको संलग्नतामा पाठ्यक्रम निर्माण भएकाले यसबाट बालबालिकाले स्थानीय ज्ञान सीप सिक्ने विश्वास व्यक्त गरे। 

पाठ्क्रम निर्माण समितिका संयोजक शर्माले नगरपालिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत विषयलाई समावेश गरेर पाठ्यक्रम तयार गरिएकाले यो सबैको साझा हुने दाबी गरे। 

यो पाठ्क्रम नगर शिक्षा समितिको बैठक बसेर अनुमोदन गराई आगामी शैक्षिक सत्रबाट लागू गरिने नगरपालिकाका शिक्षा अधिकृत गोपालराज भुजेलले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा शिक्षकलाई अध्ययन गर्न दिइने छ। त्यसपछि मात्र पठ्यपुस्तक छपाएर विद्यालयमा पठाइने छ। 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत लालबाबु कवारी,  प्रवक्ता शारदामाया तामाङ र नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता थियो। रासस 

प्रकाशित मिति: : 2021-06-26 12:25:00

प्रतिकृया दिनुहोस्