गण्डकीमा मन्त्रालय बाँडफाडः बिना विभागीयले जिम्मेवारी पाए, बजेट छलफलपछि बाँकी मन्त्रिपरिषद् विस्तार हुने  

गण्डकीका बिना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्।

जेठ २९ गते बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका ४ बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ।

नयाँ भएको सहमति अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी (जसपा)बाट मन्त्री बनेका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कांग्रेसबाट मन्त्री बनेका सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रीहरुले आइतबार पदस्थापन गर्ने कार्यक्रम तय भई सकेको छ। 'हिजो बेलुकी भयो। ढिला पनि भयो। आज शनिबार भएकाले आइतबार प्रदेश प्रमुख कहाँ पत्र पठाएर आइतबारै पदस्थापन हुन्छौं,' सरकारका प्रवक्त समेत रहेका सामाजिक विकास मन्त्री कुमार खड्काले भने। बाँकी मन्त्रालय विस्तार भने बजेट छलफलपछि हुने उनले जानकारी दिए। गण्डकीमा अझैं ६ मन्त्रालय मन्त्रीबिहिन छ।

जसपा केही लचिलो बन्दा मन्त्रालय बाँडफाँडको काममा मुख्यमन्त्रीलाई केही सजिलो भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने शर्तसहित सरकारमा सामेल भएको जसपा आफूहरुलाई रोजेर मन्त्रालय दिने सहमति भएको दाबीसहित कडा प्रतिरोधमा उत्रेको थियो।

कांग्रेस, माओवादी, जसपा, राजमो र एक स्वतन्त्र सांसदसहितको गठबन्धनमा मन्त्रालय बाँडफाडकै विषयलाई लिएर किचलो सुरु भएपछि विवादको जरो उखेल्न मुख्यमन्त्री काठमाडौंसम्म पुगेका थिए। शिर्ष नेताहरुलाई भेटेर समाधान खोज्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहितको टोली काठमाडौं पुगेको थियो।

मन्त्रालय बाँडफाडकै विषयलाई लिएर कुरा नमिल्दा मन्त्रालयका काम-कारवाही पनि ठप्प छन्।

प्रकाशित मिति: : 2021-06-26 09:27:00

प्रतिकृया दिनुहोस्