'गाउँमै रोजगार गर्वको आधार' कार्यक्रमले उद्यमी सिर्जना गर्दै

कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहेका छन्।

करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किएका भोटेलाई पुनः विदेश जाने रहर छैन। विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उनले बताए।

“कोभिडका कारण अवधि नसकिदै घर फर्किनु प¥यो, फेरी विदेश गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा केही गरौँ भनेर व्यावसायिक रुपमा भेडा पाल्ने तयारीमा जुटेको छु”, उनले भने।

सुकुलाई भेडापालनका लागि गाउँपालिकाले दिएको अनुदानले धेरै सहयोग पुगेको छ। भेडापालनलाई गाउँपालिकाले २ लाख ५० हजार अनुदान दिएको छ।

गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम तर्जुमा गरी गाउँपालिकाले यहाँका ८ वटै वडामा बजेट विनियोजन गरी सञ्चालन गरेको उक्त कार्यक्रमबाट सुकुले अनुदान लिएका हुन्। यो कार्यक्रम चालु आर्थिक वर्षबाट शुरु भएको हो। अनुदान लिएसँगै भेडापालन व्यवसायका लागि तयारीमा जुटेको उनले बताए।

तयारी स्वरुप अहिले ३५ वटा भेडा जम्मा गरी सकिएको उनको भनाइ छ। विदेशमा बसेर कमाइ गर्ने सोच हुँदा हुँदै कोभिडका कारण चाँडै घर फर्किएका भोटेलाई केही समय के गर्ने, कस्तो व्यवसाय चलाउने भन्ने विषयले निक्कै चिन्ता थियो।

के काम गर्ने, कसरी घर खर्च जुटाउने जस्ता कुराले पिरलोमा पर्नुभएका सुकुलाई व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले दिएको अनुदानले भेडापालक तथा व्यवसायी बन्ने बाटो खुलाएको छ।

प्रकाशित मिति: : 2021-06-26 08:26:00

प्रतिकृया दिनुहोस्