छेउमा फेवाताल छ। डिलमा कुमारी नेपालीको चट्पटे पसल।
सोमबार कास्की प्रशासनले निषेधाज्ञा केही खुकुलो पार्यो। फेवा किनारमा हिजो-अस्तीभन्दा चहलपहल बढेको छ। तर, पहिले जसरी होइन।
कोरोना त्रासले अशान्त बनेका मान्छेहरु मनको शितल खोज्दै आउँछन्। फेवा किनारमा केही बेर उभिन्छन्। यताउती गर्छन्। दुई-चार थान फोटो / सेल्फी लिन्छन्। अनि, फर्किन्छन्।
फेवा आज पनि शान्त छ। हिजो पनि शान्त थियो। भोलि पनि हुने छ। कुमारीको मन भने अशान्त छ। हो, उनलाई एउटै पीर छ- ग्राहक आउनुभन्दा पहिले प्रहरी पो आइ पुग्ने हो कि ? कुन बेला प्रहरी आएर खेदाउने हो ?
हिजोदेखि प्रहरीको आँखा छलेर यसरी पसल लगाएर बसेकी छन्, कुमारी। मान्छेहरु आउँछन्। कुमारीको चट्पटे पसलमा एक नजर फ्याँक्छन्। जान्छन्। हत्तपत कोही पनि चट्पट खान तयार देखिन्नन्। प्रष्टै अनुमान लगाउन सकिन्छ, कोरोना संक्रमित भइन्छ कि भन्ने डर छ सबैमा।
हावाको झोक्काले ल्याएको छाल रोकिएर फेवाताल फेरि उस्तै शान्त बस्छ। कुमारी पनि मनभरि दु:खको सागर बोकेर पनि शान्त बस्छिन्। यही फेवाताल जस्तै गरी।
उनलाई पनि डर नलागेको होइन। डर छ। डरभन्दा अघि साहूँको ऋण छ। त्यसैले त जोखिम मोल्नुपर्ने बाध्यता छ। थोरै भए पनि व्यापार गर्नु छ।
कुमारीका व्यथा यही फेवाताल जस्तै छन्। टिलपिल-टिलपिल। कहिलेकाहीँ बतास आएर तालको पानी छचल्किन्छ। कुमारीको मन पनि कहिलेकाहीँ बेस्सरी दुख्छ।
फेवातालमा कहिलेकाहीँ छाल आएजस्तै गरी हल्लाउछ। हावाको झोक्काले ल्याएको छाल रोकिएर फेवाताल फेरि उस्तै शान्त बस्छ। कुमारी पनि मनभरि दु:खको सागर बोकेर पनि शान्त बस्छिन्। यही फेवाताल जस्तै गरी।
‘के गर्ने बाबु, लकडाउन भनेर यत्रो महिना घरभित्रै बसियो केही नगरी। कोठाभाडा तिर्न पनि धौ-धौ, कमाई नभएपछि के खाने ?’ दुखेसो पोख्दै उनले भनिन्, ‘बरु, कोरोना लागे पनि लागोस्। अलिअलि भए पनि व्यापार हुन्छ कि भनेर निस्किछु।’ चर व्यापार पहिलेजस्ताे छैन।
कुमारीको माईती तनहूँको ढोरबाराही हो रे! अहिले लेकसाइड खहरेमा डेरा गरेर बसेकी छन्। पहिलो लहरको लकडाउनले आयस्रोत खोस्यो। अवस्था अझैं पनि उही छ।
कुमारीको जिन्दगी कुनै नेपाली फिल्मको कहानी जस्तै छ। फिल्मको कहानी उनको जिन्दगी जस्तै होइन। उनको जिन्दगी बरु फिल्म जस्तो छ। सानैमा बिहे गरेकी कुमारीको पहिलो श्रीमानले बीचैमा साथ छाडेर स्वर्ग लागे। कुमारी एक्लै भइन्।
एउटा भनाई छ नि नेपालीमा, 'जिन्दगी कटाउन जोडा चाहिन्छ। एक्लो जीवन काट्न गाह्रो छ।' यही सोचेर दोश्रो बिहे गरिन्। एक छोरा र छोरी भए। जिन्दगी राम्रै चल्दै थियो। मान्छेको जिन्दगीमा कतिबेला के आइपर्छ कसलाई पो थाहा हुन्छ र !
जिन्दगीभर साथ दिन्छु भन्नेले नै कतिबेला साथ छाड्छन् भन्ने पत्तै नहुने। सधैँ सुख दिन्छु भनेर बिहे गरेका श्रीमानले अर्की श्रीमती ल्याए। श्रीमान आफ्नो नभए पनि छोराछोरी त आफ्ना हुन्। छोराछोरीको मुख हेरेर कुमारीले चित्त बुझाइन्। अहिले जेनतेन दुखजिलो गरेर दैनिकी चल्दै छ।
छोरी बिहे गरेर पराई घर गइन्। छोराले बुहारी भित्र्याए। कुमारीलाई लाग्यो, अब त मेरा पनि सुखका दिन आए। तर, कुमारीको सुख धेरै दिन टिकेन। बुहारीले उनलाई रुचाइनन्। ठाकठुक पर्न थाल्यो। छोराबुहारीको खुसीमा भाँजो हाल्दिनँ भनेर एक्लै बस्न लागिन्।
डाक्टरले पत्थरी परेको रिपोर्ट निकाले। अप्रेशन गर्नु पर्ने भयो। सर-सापटी गरेर अप्रेशन त गरिन्। अहिले त्यही सापटी दिनेहरुले अत्याउछन्।
फेवा किनारमा यसरी नै चटपटे पसल लगाएर दशक बिताइसकिन्। सेतै फुल्न आटेका केशले उनको उमेर संकेत दिई हाल्छ।
कसैको सहारा चाहिने उमेरमा उनी आफैं पाखुरी बजाएर पेट पाल्न कस्सिएकी छिन्। आफ्नै पौरखमा विश्वास गर्ने कुमारी ७ महिना आफैं थला परिन्। काम गर्दागर्दै रोगले च्यापेकाे पत्तै पाइनन्।
पछि धेरै गाह्रो परेपछि अस्पताल पुगिन्। डाक्टरले पत्थरी परेको रिपोर्ट निकाले। अप्रेशन गर्नु पर्ने भयो। सर-सापटी गरेर अप्रेशन त गरिन्। अहिले त्यही सापटी दिनेहरुले अत्याउछन्। त्यसैले त यो जोखिम मोल्नुपर्ने बाध्यता आएको रे! उनलाई।
‘परेको बेलामा सहयोग गरे। ४ लाख रुप्पे ऋण तिर्नै बाँकी छ। साहुहरुले अत्याउछन्। अब लकडाउन खुलेर पहिले जस्तै व्यापार भई दिए त ऋण तिर्ने थें,’ उनले भनिन्, ‘सधैँ यस्तै भयो भने सक्छु कि सक्दिनँ, खै ?’