निवर्तमान उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्नेबित्तिकै पोखेको बहुलराष्ट्रवादको तुषले काठमाडौंलाई क्षणभरमैं ततायो। राजा महेन्द्रीयराष्ट्रवादबाट प्रभावित पुस्ता अलि बढी नै उग्र देखिन्थे। तर राष्ट्र र राष्ट्रियताप्रति सम्यक दृष्टिकोण अपनाउनेहरू गम्भीर थिए। किनकि यो शब्दको प्रयोग नेपाल सद्भावना पार्टीको पहिलो महाधिवेशनबाट प्रारम्भ भए पनि यसले मूर्त रूप भने जनयुद्धकालमा मात्र धारण गर्न सकेको थियो। तत्कालीननेकपा (माओवादी)ले बहुलराष्ट्रिय राज्य, राष्ट्रिय राज्य, राज्यराष्ट्रजस्ता शब्दाबली त्यतिबेला घनिभूत रूपमा छलफल गराएको देखिन्थ्यो। उसले गरेको आन्तरिक अभ्यासबाट पनि लाखौं सीमान्तकृत जातजाति, भाषाभाषी, लिंग, वर्ग र क्षेत्रका नागरिक प्रभावित भएका थिए।
मूलतः माओवादीको यो एउटा यस्तो हतियार थियो जसले माक्र्सवाद वा माओवादको ‘म’सम्म उच्चारण गर्न नसक्नेहरू माओवादीका लागि प्राणको न्योक्षावर गर्न तयार थिए। सायद त्यसैले होला संविधानसभाको पहिलो निर्वाचनमा यसप्रकारको सैद्धान्तिक सोचको प्रतिफल प्रष्ट रूपमा दृष्टिगोचर भयो। त्यतिबेला मधेस जनविद्रोह नभएको भए मधेस पनि खर्लप्पै खान्थे माओवादीले ! यो कुरालाई कसरी पुष्टि गर्न सकिन्छ भने मुलुकको पश्चिमी भूभाग जहाँ थारुहरूको अहिले पनि घनिभूत बसोबास छ। त्यही बहुलराष्ट्रवादी सोचलाई सही ढंगबाट स्थापित गर्न नसकेपछि दोस्रो संविधान सभामा मुस्किलले माओवादीले केही सिट हात पार्न सकेका थिए। थारुवान मुक्ति मोर्चाले दासत्व जीवन बाँच्न बाध्य थारुहरूलाई मुक्तिको मिठो सपना बाँडेका थिए।