नगरसभा स्थलमै मेयरविरुद्ध स्थानीयद्वारा चर्को नाराबाजी

विजय साह

जनकपुर

धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले चर्को नाराबाजी गरेको छ।

ढल्केवरमा नगरपालिकाको नगरसभा सुरु भएपछि स्थानीयबासी आफ्ना माग सम्बोधन गराउन सयौंको संख्यामा प्लेकार्ड ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए।

नेपाल सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको केही दिनपछि सो ट्रमा सेन्टर नगरपालिकाका मेयर हरिनारायण महतोको पहलमा अयन्त्र सार्ने निर्णय गरेको खबर बाहिरिएसँगै ढल्केवरबासी आन्दोलित बनेका छन्।

सरकारले तोकेकै स्थानमा ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै ढल्केवरबासी आन्दोलित बनेका हुन्। ट्रमा सेन्टर ढल्केवरमै निर्माण हुनुपर्ने माग राख्दै स्थानीयबासीले चन्देश्वर महतो र बुधेश्वर महतो संयोजकत्वमा ५१ सदस्य संघर्ष समिति समेत गठन गरेका छन्।

बिहिबार भएको मिथिला नगरसभाबाटै माग सम्बोधन हुनुपर्ने भन्दै संघर्ष समितिको अगुवाइमा पुगेका ढल्केवरबासी कार्यक्रम स्थल घेराउ गरेर मेयर महतोविरुद्ध चर्को नाराबाजी गरेका थिए।

नाराबाजीकै क्रममा  मेयर महतो आवेशमा आएर जनतामाथि नै भडकिएपछि स्थिति केही बेर तनाबग्रस्त बन्न पुगेको थियो।

तनाबग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी प्रहार समेत गरेको छ। नगरसभा चलिरहँदासम्म बाहिर करिब पाँच सयको संख्यामा आएका प्रदर्शनकारीले मेयर महतोविरुद्ध चर्को नाराबाजी गरिरहेका नै थिए।

प्रदर्शनकारीले उठाएका माग मेयर महतोले सम्बोधन नगरेपछि आक्रोशित स्थानीयबासीले प्रवेशद्वारमा लगाइएको टेन्ट तोडफोड गर्दै केही बेर पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए।

अवरुद्ध राजमार्ग खुलाउन स्थानीयबासीमाथि प्रहरीले बलसमेत प्रयोग गरेकाे थियाे। 

प्रकाशित मिति: : 2021-06-24 16:55:00

प्रतिकृया दिनुहोस्