‘तँ ठूलो भाग खोज्न गएकी थिइस्, केटी लिएर हिँडेको थिइस्, तैंले आफ्नो बानी सच्याउन सकिनस् होइन ? तँ अब कपाल पाल्, साडी लगा, कुर्ता लगा, तैंले अब केटासँग बिहे गर्नुपर्छ ।
तँ अब यसरी हिँड्ने होइन, नत्र त तैैले दुःखै पाउने हो ।’ कोभिड १९ को मार झेल्न नसकेर काठमाडौंबाट गाउँ फर्केका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो घरमा यस्तै शब्दवाण सुन्नपर्छ । दूरदराजका इलाकामा मात्रै नभई शहरी भेगमा पनि आफ्नै बुवाले खान नदिएर ‘तँ छक्का, हिजडा, केटीसँग बस्ने’ भनेर दुर्व्यवहार गरेका घटना समाजमा ताजै छन् ।
बाध्यतावश आफूसँग बसेको साथीलाई छोडेर दैनिक गुजारा सहज पार्ने उद्देश्यले आफ्नो घरमा जाँदा घरपरिवारको व्यंग्य र दुर्व्यवहारले धेरैलाई सास्ती दिएको छ । कतिले सहन सक्छन्, तर सबैले कहाँ सहन सक्छन् र ? आत्महत्या नै गरेका छन् ।
मितिनी नेपालकी संस्थापक अध्यक्ष लक्ष्मी घलानले कोरोनाको समयमा यस समुदायले भोग्नुपरेको समस्याबारे बताइरहँदा यसो भनिन्–
‘अहिले थुप्रै साथीहरु घर फर्कनुभएको छ । घर फर्किसकेपछि आत्महत्या गरेका घटना पनि छन् । जो साथीहरु पहिचानका आधारमा घरबाट बहिस्कृत भई शहरमा पसेर जीविकोपार्जनका लागि रेष्टुरेन्ट, कपडा पसललगायतका स्थानमा ज्यालादारी गरिरहनुभएको थियो, यी व्यवसाय बन्द भएका कारण गाउँ जानुभयो । तर, त्यहाँ उहाँहरुको जीवन सहज होइन, थप कष्टकर बनेको छ ।’