सेबिता अधिकारी
अनामनगरमा रहेको एक चिया पसलमा साथीसँग गफ गरेर बसिरहेकी थिएँ। त्यसैबेला थिएटरका ६/७ जना दिदीहरु आउनुभयो। तीनचार दिन भएको थियो, उहाँहरु त्यही समयमा टेम्पोबाट उत्रिनु हुन्थ्यो र मामाको दोकानतिर जानुहुन्थ्यो।
एकदिन त्यहाँ आउने मध्ये एक जनालाई सोधेँ : सधैँ एकै समयमा सबै जना दिदीहरु आइपुग्नु हुन्छ। कहाँ गएर आउनुभएको हो ? नाटक हो ?
उत्तर आयो : हो, नाटकको रिहर्सल भैरा’छ नी।
नाटक भन्ने बित्तिकै थप प्रश्न सोधें : ए कुन नाटक ?
दिदीले 'भजाइना मोनोलग'को कथाको रिहर्सल भइरहेको बताउनु भयो। भजाइना मोनोलग अर्थात् योनीका कथाहरु। .
मैले फेरि सोधें : कसको नाटक हो ?
तिनले उत्तर दिइन : आकाक्षां दिदीको।
को आकांक्षा भनेर पनि सोधें। कार्की भनेर भनेपछि थाहा पाएँ, 'फिडब्याक' दिने दिदीको नाटक रहेछ।
मनमनै सोचेँ, उहाँ त्यही आकांक्षा कार्की हुनुन्थ्यो जसले हाम्रो नाटक चिसो भञ्ज्याङ हेरेर राम्रो, लामो प्रतिक्रिया दिनु भएको थियो। उहाँको कुराले उर्जा मिलेको थियो। हाम्रो नाटकमञ्चन भैरहेको बेला उहाँहरु भजाइना मोनोलग ३.० को रिहर्सलमा हुनुहुँदो रहेछ।
अनि आकांक्षा दिदीलाई म्यासेज पठाएँ : 'म भोल्अनटियर गर्छु नाटकमा। मलाई तपाईंसँग काम गर्नुछ दिदी।'