काठमाडाैंको फोहोर उठाउन मौसमकाे भर

थाहा खबर

काठमाडौँ

सञ्जिता आचार्य

उपत्यकाको फोहोर विसर्जन केन्द्र नुवाकोटको सिसडोल  ल्यान्डफिल साइट पुर्‍याउन मौसमको भर पर्नु पर्ने अबस्था सिर्जना भएको छ। मनसुन सुरु भएसँगै सडक हिलाम्मे भएर फोहोरको गाडी जान नसकेपछि फाेहाेर विसर्जनमा समस्या उत्पन्न भएकाे हो। 

फोहोर विसर्जन तथा प्रशोधन गर्न नुवाकोटको बन्चरेडाँडामा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्र १६ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन। ३६ महिनाका लागि फोहोर फाल्न स्वीकृति लिएको सिसडोल अस्थायी ल्याण्ड फिल्ड साइट १६ वर्षसम्म पनि प्रयोगमै छ।

जसका कारण फोहोरको समस्या वर्षेनी देखापर्ने गरेको काठमाडौं महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठ बताउँछन्। ओखरपौवादेखि सिसडोल सम्मको सडक बनाउने जिम्मा भौतिक पुर्वाधार मन्त्रालयले लिइएको थियो। २ मिलोमिटर सडक निर्माण गर्न नसक्दा फोहोर व्यवस्थापनकाे समस्या पटकपटक देखापर्ने गरेको छ। 

फोहोर व्यवस्थापनका लागि स्थायी ल्याण्ड फिल्ड साइड निर्माण नभएकाले समस्या भएको हो। विभागीय प्रमुख श्रेष्ठ भन्छन्,‘काठमाडौको फोहोर उठाउन मौसमको भर पर्नु पर्ने अबस्था आएको छ, घाम लाग्दा जान्छ, पानी परेपछि गाडी जानै सक्दैन।’

हाल प्रयोगमा रहेको अस्थायी सिसडोल फोहोर प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी फोहोर थुपारिएको छ।  फोहोरको डङगुरबाटै गाडी हिंड्ने गर्थे। लगातारको पानीले गाडी जान नसकेर फोहोर उठाउन समस्या भएको हो। 

सरकारले ०५१ मै बन्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो। तर फिल्डमा काम भने ०६२ पछि बल्ल थाल्यो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४० वर्षे सम्झौता गरेर बन्चरेडाँडामा प्रशोधन केन्द्र बनाउने सरकारको योजना थियो।

प्रकाशित मिति: : 2021-06-19 22:26:00

प्रतिकृया दिनुहोस्