एकादेशमा एउटी अधबैंसे महिला थिई। उसलाई साह्रै सानो नानी पाउने रहर थियो। तर, उसको त्यो रहर पूरा भएन। एक दिन उसले परीलाई आफ्नो रहर सुनाई, “मलाई सानो नानी पाउने साह्रै ठूलो धोको छ, कसरी पाउन सक्छु होला?”
“सजिलै सक्छ्यौ,” परीले भनी, “म तिमीलाई एउटा जौको बीउ दिन्छु। यो किसानका खेतबारीमा फल्ने र कुखुराले खाने जौभन्दा अलि फरक छ। यसलाई लगेर गमलामा रोप। अनि हेर, के हुन्छ!”
महिलाले परीलाई धन्यवाद दिई। जौको बीउको मोल १२ पैसा तिरी र घर लगेर परीले भने जस्तै गमलामा रोपी। एकैछिनमा त्यहाँ एउटा बोट उम्रिएर सुन्दर फूल फुल्यो। हेर्दा कमलको फूल जस्तै देखियो। फूलका पत्रहरू कोपिलामा जस्तै कस्सिएका थिए।
“आहा कति राम्रो!” महिला खुशीले गदगद भई र त्यसका राता र सुनौला पत्रलाई चुमी।
उसले त्यसो गर्दागर्दै फूल फक्रियो र साँच्चैको कमल बन्यो। फूलका मखमली पत्रहरूका बीचमा एउटी साह्रै नाजुक र हिस्सी परेकी एउटी केटी बसेकी थिई। उसको कद मान्छेको हातको बूढीऔंलाको आधी जति थियो। त्यो साह्रै सानी भएकीले महिलाले उसको नाम पनि ‘सानी’ नै राखिदिई।
सानीका लागि उसले ओखरका खपटा सिँगारेर कोक्रो र स–साना रङ्गीचङ्गी पातहरूको बिछ्यौना बनाई। त्यसलाई गुलाबका फूलको पत्रले छोपछाप पारी। सानी राति त्यसैमा सुत्थी। दिउँसो चाहिँ एउटा बाटा (भाँडा) मा पानी भरेर राखिएको टेबलमा खेल्थी। बाटालाई वरिपरि माला जस्तै फूलको हारले सजाइएको थियो। फूलका भेट्ना पानीमा डुबेका थिए। त्यसको बीचमा कमलको एउटा ठूलो पात तैरिएको थियो। त्यसलाई सानीले डुङ्गा बनाएकी थिई। त्यसैमा चढेर तैरिँदै सानी बाटामा यताउति गर्थी। डुङ्गा खियाउने दाबिलो चाहिँ घोडाका दुइटा सेता रौं थिए। उसको बालक्रीडा साह्रै मनमोहक देखिन्थ्यो। सानी गीत पनि गाउँथी। उसले जस्तो मीठो गीत कसैले गाउन सक्दैनथ्यो।