लगातार चार महिनादेखिको दौडधुपबाट दस दिनको विश्राम लिँदै म फेरि अर्को यात्राको लागि विन्द्यवासिनी मन्दिरको आडैमा गाडीको पर्खाइमा थिएँ। जागिरको शिलशिलामा पोखरा आएदेखि बस्ने थलो मैले यही मन्दिर छेउको घर बनाएको हुँदा सहजताको लागि गाडीलाई यही लोकेसन दिएको थिएँ। दिएको समयमा गाडी आइपुगेको थिएन। हुन त यो नेपाल हो नि । ठीक ठाउँमा ठीक समयमा के पो हुन्छ र ? फेरि हामीलाई कुर्ने र कुराउने बानी जो परेको छ।
कुर्ने कुरा गरिरहँदा एक्कासी रोमा फेरि आँखैछेउ उभिइ। ऊ मलाई यसैगरि कुरिरहन्थी। म पनि कहिले काहीँ उसलाई यसरी नै कुर्थेँ। यस्तै पर्खाइमा दुई-चार मिनेट कुर्नुपर्दा हाम्रो दुई चार दिन बोलचाल नै बन्द हुन्थ्यो। तर ती सबै विगत थिए। आज सम्झना मात्र। दुई चार वर्षको पिरती पनि यति सजिलै बियोग हुनेरहेछ। सरकारी जागीरेलाई नै बिहे गरिदिने उनका बाआमाको ढिटमा उनी पिल्सिइन्। सरकारी जागीरसँग तौलँदा करीब १ लाखभन्दा बढी महिनामा आउने मेरो रोजगारी, काठमाडौंको स-सानो घर, आमा बाबासहितको मेरो सानो परिवार, यो खाइलाग्दो ज्यान। अहँ, केहीले पनि जित्न सकेन।
सरकारी अधिकृतसँगको १५ महिनाभन्दा लामो दाम्पत्य जीवन उसको कसरी बितिरहेको होला? घरीघरी सम्झन्छु, उसलाई मनपर्ने फूलको गुच्छा बोकेर त्यस दिन म उनको बिहेमा पुगेको। आज पनि मुटु ढक्क फुल्छ, कुन साहसमा उनको बिहेमा पुगे हुँला? अनि कुन सास फेर्दै म फर्के हुँला? तर केहीदिनको छटपटीपछि मैले मनको दुखाइ सहँदै जीवनलाई सहज बनाइदिएको थिएँ।