पहिलो लकडाउनमा धेरै मानिस बेरोजगार भए। घरघर गएर काम गर्ने सहयोगीहरूलाई पनि संक्रमण फैलिने डरले नआउन भनियो। यस्ता अधिकांश सहयोगीको कमाइ ठप्प भयो। केही घरवालाले भने आफ्ना सहयोगीहरूलाई तलब दिइरहे।
जया राजभण्डारी तिनै घरवालामध्ये एक हुन्। घरमा काम सघाउने दुई जना महिलालाई लकडाउनताका काममा नआए पनि जयाले झन्डै दुई महिनाको तलब दिइन्। तर दिदीहरूको मन खुसी भएन।
'काम नगरी तलब बुझ्दा इमानदार व्यक्तिलाई नराम्रो लाग्ने रहेछ,' १८ वर्षीया जयाले भनिन्।
ती दिदीहरूलाई कुनै कामको जिम्मेवारी दिन पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो, 'उहाँहरूले आफ्नै घर बसेर आम्दानीमूलक काम गर्न सके कति आनन्द लाग्छ होला भन्ने सोचेँ।'
उनले यो सोचलाई के गरेर, कसरी व्यवहारमा परिणत गर्ने भनेर आफ्नै हिसाबले खोजबिन गरिन्। घरमै भएका विभिन्न सरसामग्री जाँच्न थालिन्। यही क्रममा उनले थोरै सिल्क (रेशम) कपडा भेटिन्।