सेती उर्लिन्छ अनि मन कुँडिन्छ

रिना थापा

बर्खामास। बस्ती तल सेती उर्लिंदै बगिरहेको छ। उर्लिएको सेती देखेर बस्तीका सटबहादुर गुरुङको मन भयभीत हुन्छ। उर्लेको खोलाका कारण उनी निदाउन सक्दैनन्।

अविरल वर्षाका कारण उर्लिएको सेतीले बस्ती जोखिममा छ। ०४२ सालदेखि बसोबास भइरहेको उक्त बस्तीमा वर्षाले त्यतिसारो असर पुर्‍याएको थिएन। यसअघि सेती जतिसुकै उर्लिए पनि बस्तीका मानिसलाई भय थिएन।

पोखरा महानगरपालिका वडा नम्बर १४ को गस्ती बस्तीमा ३७ घर छन्। जसमध्ये १२ घर  जोखिममा छन्। जोखिममा रहेका परिवारलाई वडा कार्यालयले समाज घर र चौरमा राखेको छ। बाँकी केहीलाई बस्तीकै परिवारले आश्रय दिएर राखेका छन्। बस्तीका सबैको ज्याला मजदुरी गरेर दैनिकी गुजारा हुन्छ।

पोखरामा सोमबारदेखिको वर्षाले बुधबार बिहान बस्ती छेउको जमिन कटानमा पर्‍यो। सेती उर्लिएपछि बहाव बढ्दै छ। उर्लिएको सेतीले भएको कटानले बस्तीका १२ घरलाई जोखिममा पार्‍यो।

 

प्रकाशित मिति: : 2021-06-17 22:33:00

प्रतिकृया दिनुहोस्