चुरे दिवसको अवसरमा मधुबासा सामुदायिक वनमा वृक्षारोपण

विजय साह

जनकपुर

चुरे दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका ४ स्थित मधुबासा सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको ७ औं स्थापना दिवसको अवसरमा चुरे क्षेत्रमा पर्ने मधुबासा सामुदायिक वन क्षेत्रको ७ हेक्टर क्षेत्रमा विभिन्न उन्नत जातको बिरुवा रोपण गरिएको हो।

असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा ‘चुरे दिवस’ मनाउँदै आएको छ।

यसै क्रममा बुधबार ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मुल नाराका साथ चुरे दिवसको सातौं बार्षिक समारोहको आयोजना गरी मधुबासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेका हुन्।

बार्षिक समारोह तथा वृक्षारोपण कार्यक्रमका प्रमुख अथिति प्रदेश २ का प्रदेश सभासदस्य रामअशिष यादवले रुखबिरुवा र अक्सिजन भएकै कारण पृथ्वीमा मानव सम्यता भएको बताए।

'पृथ्वीमा प्राणी हुनुको मुख्य कारण अक्सिजन नै हो। र अक्सिजनको मुख्य श्रोत रुखबिरुवा भएकोले यसको महत्व बुझेर सरकारले प्रकृति संरक्षणका निम्ति समुदायलाई अगाडि सार्नुपर्ने हो, चुरे संरक्षणको दायित्व राज्य पक्षको भएपनि हालैको प्रस्तुत बजेटमा सरकार गरेको गिटी बालुवा बेच्न बिषय चुरे बिनाशको प्रमुख कारण बन्ने ‘सभासदस्य यादवले भने।’ 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुरका आयोजना प्रमुख शिव पोखरेलले चुरे क्षेत्रलाई कसरी दिगो रूपमा संरक्षण गर्न सकिन्छ भन्ने विषयलाई गम्भीर रूपमा लिएको बताउँदै उनले चुरे संरक्षणका सवालमा वर्षैभरि कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

वृक्षारोपण कार्यक्रमका बिशिष्ट अथिति वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियन्ता सुरश शर्माले चुरे पहाडको बनोट कमलो भएकोले अलिकति पनि लापरवाही भए पर्यावरणमा ठूलो क्षति पुग्ने बताए।

नेपालको परिपेक्ष्यमा पानी रिचार्ज गर्ने ठाउँको रुपमा चुरे रहेको जनाए। उनले जैविक विविधताको धनी ठाउँ चुरे क्षेत्र नास भए तराई नै नास भएर जान्छ। ‘त्यसैले यसको संरक्षण र सम्बर्धन अभियानमा सबै क्षेत्रबाट लाग्नुपर्ने महासचिव शर्माले भने।

नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ। पूर्ण रूपमा नखाँदिएको तथा  खुकुलो पत्रे चट्टान बनेको र महाभारतबाट बग्ने नदीहरु चुरे क्षेत्र भएर तराईतर्फ बग्ने भएकाले प्राकृतिक रूपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ।

पछिल्लो समय चुरे क्षेत्रको वन विनाश, ढुंगागिट्टी जस्ता नदीजन्य पदार्थको अवैध उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्रमा जोखिम बढाएको छ।

प्रकाशित मिति: : 2021-06-16 19:59:00

प्रतिकृया दिनुहोस्