वीर अस्पतालमा ‘वन साङ्लाले घर साङ्ला’ धपाए !

बाह्रखरी

काठमाडौं

काठमाडौं । कोरोनाको दोस्रो लहर उच्चतम अवस्थामा पुग्दै गर्दा जेठ ६ गते सरकारले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ ल्याएर वीर अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गर्‍यो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा कार्यरत् डा. जागेश्वर गौतम कोभिड केन्द्रीय अस्पतालको प्रमुखको रुपमा आएपछि वीर अस्पतालमा ठूलै विवाद उत्पन्न भएको छ । त्यहाँ कार्यरत डाक्टरहरूका अनुसार यो कार्यले ‘वन साङ्लाले घर साङ्ला धपाए’जस्तो भएको छ । 

वीर अस्पताल २०६३ सालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनअनुसार सोही प्रतिष्ठान अन्तर्गत चलिरहेकोमा अहिलेको अध्यादेशले यसको काम, कारवाही र यस प्रतिष्ठानबाट उत्पादन हुने डाक्टरहरूको वैधतामा समेत प्रश्न उठ्ने काम गरेको सम्बद्ध विज्ञले बताएका छन् । 

अध्यादेशबाट बनेका प्रमुख प्रशासकीय अधिकृत डा. गौतमले पद बहाली गर्दा सम्पूर्ण वीर अस्पतालको आर्थिक र प्रशासनिक प्रमुखको रुपमा पद बहाल गरे र प्रतिष्ठानले नियुक्त गरेको निर्देशक विस्थापित जस्तै भए । प्रतिष्ठानका उपकूलपति, रेक्टर, रजिष्ट्रार, डिन र डाइरेक्टरहरूको भूमिका अस्पताल सञ्चालनमा के हुने भन्ने विषयमा अध्यादेशले केही नबोलेको कारणले यो अन्योल देखिएको हो ।

प्रकाशित मिति: : 2021-06-16 19:13:00

प्रतिकृया दिनुहोस्