मनाङे ‘मसिहा’ बन्दा कृष्णचन्द्र गण्डकीका मुख्यमन्त्री

नेपाल खबर

काठमाडौँ

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेपालीले तत्कालका लागि सबै मन्त्रालयको कार्यभार आफैसँग राखेका छन्।

उनीसँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ भनिने दीपक मनाङेले विना विभागीयमन्त्रीको रुपमा शपथ लिएका छन्। 

मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरुको सहमतिमा मन्त्रालयको बाँडफाँड गरिने बताएका छन्। यद्यपि, स्रोतका अनुसार कांग्रेस सभासद कुमार खड्कालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने पक्कापक्की भएको छ।

केन्द्रमा महिला तथा बालबालिकामन्त्री भइसकेका खड्का प्रदेश सभामा सार्वजनिक लेखा समितिका सभापति थिए।

प्रकाशित मिति: : 2021-06-13 09:35:00

प्रतिकृया दिनुहोस्