गणेश खनिया
उनीहरु मूलपाठ भए, हामीलाई फूटनोट बनाइयो
– तमिम बर्घौटी (इन् जेरुसेलम)
उनीहरु अर्थात् इजरायली जो दोस्रो विश्वयुद्धपछि नाजी प्रताडनाको शिकार भए अनि सन् १९४८ मा प्यालेस्टाइन भूमिमा बसाइए। कालान्तरमा उनै प्यालेस्टिनीलाई शरणार्थी बन्न बाध्य पारे । यसरी ‘फुटनोट’मा सीमित हुनपुगे प्यालेस्टिनीहरु।
आम नागरिक जस्तै प्यालेस्टिनी लेखकहरुको साझा भोगाइ हो– विस्थापनको पीडा। दार्शनिक एडवार्ड सइद र कवि महमौद दार्विस मात्र होइनन्, प्यालेस्टाइनमा जन्मेर पनि आफ्नो भूमिबाट सधैं टाढै रहने स्रष्टामा मुरिद बर्घौटी पनि पर्छन्। आम प्यालेस्टिनी जस्तै बर्घौटीको पनि जीवन निर्वासनमै बित्यो। जन्मभूमिबाट टाढिँदाको सघन पीडा उनले यसरी पोखेका छन्, “निर्वासन नै मेरो दोस्रो घर हो। त्यो पनि एकै ठाउँमा कहाँ हो र? कहिले रमल्लाह, कहिले कायरो, कहिले बुडापेस्ट, कहिले बेरुत, त कहिले अम्मान।”
प्यालेस्टाइन भूमिमा इजरायलीलाई बसाउने कार्यको अरब देशहरुले एकसाथ प्रतिवाद गरे। यसको अगुवाइ इजिप्टले गर्याे, तत्कालीन इजिप्टका राष्ट्रपति गामेल अब्देल नासेरको अगुवाइमा। अरबवादको उभार थियो त्यतिखेर।