नामको हिसाब

हिमाल खबर

काठमाडौँ

राजेन्द्र पराजुली

जिन्दगीको यो उकालोसम्म आइपुग्दा मैले धेरै नामको सामना गरिसकेको रहेछु। ओहो ! कसरी बोकेँ हुँला त्यति धेरै नामको भारी? कहिले र कुन मितिमा, कसरी बिसाएँ होला नामहरूका ती बोझ? र, अब त मसँग केवल एउटै नाम छ। त्यही नामलाई चम्काउने ध्याउन्नमा छु। साहित्य लेख्छु, पत्रकारिता गर्छु, यही एक नामका खातिर। 

धेरै पटक, धेरै मानिसले, धेरै ठाउँमा मानेको आश्चर्य– आखिर नाममा के छ र ! तर, जे छ नाममै त छ। नत्र किन मानिसहरू आफ्नो अस्तित्व खोज्दै गर्दा नामलाई साथै लिएर हिँड्थे? नामै नहुने हो भने मानिसहरू अस्तित्वको लडाइँ किन लड्न अग्रसर हुन्थे र! समाज, देश, जात, वर्ग, क्षेत्र जेसुकै नाम दिएर अस्तित्वको लडाइँ लडे पनि आखिर स्थापित हुने त एक वा केही व्यक्तिको नाम नै हो। हामी अधिकांश लडाइँ केवल आफ्ना लागि लडिरहेका छौं। आफ्नो नामका खातिर लडिरहेका छौं।

साहित्य लेख्दा त नाम जसरी पनि आउने नै भयो, तर कहिलेकाहीँ काम लाग्ने समाचार लेखियो भने पनि नामकै खोजी रहन्छ। बाइलाइन आएका समाचारप्रति ज्यादा अपनत्व महसूस हुन्छ। कत्रो मोह यो नामको, ओहो!

साँच्चै म एउटा मात्रै नामको पछिल्तिर कहिलेदेखि कुद्‌न थालेको होला है? आफैंसँग गरिएको यो प्रश्नले हुत्याएर लगिदिन्छ, झन्डै पाँच दशकअघिको काँठे जीवनमा। 

मलाई बोलाउने आमाको प्रिय नाम थियो– फोक्से। मलाई ‘फोक्से’ भनेर बोलाउनकै लागि सायद आमाले मेरो काया फोक्से बनाइदिइन्। जिउ मोटो देखिन्थ्यो, तर छुँदा कपासजस्तो नरम। नरम के भन्नु, लुला! पुक्कपुक्क परेका गाला छुँदा त झनै मुलायम। गालाका लगभग हड्डीहीन थिए। मासु नै मासुले भरिएका! त्यो ज्यादा नरम भएकै कारण हुनुपर्छ, अग्रज वा शिक्षक–शिक्षिका मेरो गाला खूबै तान्थे। गाला तान्नेहरू प्रायः विपरीत लिंगी नै हुन्थे। कतिपय शिक्षिका त कक्षामा छिर्दासाथ पहिला मेरो गाला तान्थे अनि पढाउन थाल्थे।


 

प्रकाशित मिति: : 2021-06-12 17:30:00

प्रतिकृया दिनुहोस्