विवेक विवश रेग्मी
जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो
दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …।
लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा जिन्दगीको यकिन छैन, कहाँ, कहिले के हुने हो भरोसा छैन ।
‘के हो जिन्दगीको परिभाषा ? जिन्दगी बाँचुन्जेल पनि बुझ्न नसकिंदो रहेछ’ चिया बसाइमा अनन्य मित्रले बोलेका कुराले फेरि एकपटक सोच्न बाध्य भएँ । पटक–पटक जिन्दगीको परिभाषा खोज्न नसकेर विरक्तिएको विवश साथीको उक्त वाक्यले एकपटक फेरि सोच्न विवश बनें ।
धेरै फुर्सद हुँदा पनि बेफुर्सदिलो जस्तै भइने रहेछ । अहिले यस्तै बेफुर्सदिलो भएको छु । तर, जिन्दगीको बारेमा के–के सोचेर छट्पटाइरहेछु ।
‘एउटा राम्रो जागिर खान पाए, आफूले मनपराएको मानिससँग विवाह गर्न पाए, छोराछोरीलाई राम्रो पढाउन पाए, राम्रो लगाउन र राम्रो खान पाए पो जिन्दगी भन्ने लाग्थ्यो’ ती साथीले अगाडि थपे, ‘यी सबै कुरा पूर्ण छन् । जागिर पनि खाएकै छु, माया गरेकै मान्छेसँग विवाह पनि गरें, छोरीलाई राम्रो स्कूल पनि पढाएकै छु । तर पनि मैले जिन्दगीको परिभाषा अझै बुझ्न सकिनँ । खासमा के हो जिन्दगी भनेको ?’