ढल्केबरमा ट्रमा सेन्टर ल्याउन २० वर्षदेखि पहल गरेका रामशुन्दर महतोको नाममा

- काका, हालखबर के छ ? 
- ठिक छ, कहिले आयौ ? 

बिदा र चाडबाडमा काठमाडौंबाट जन्मथलो ढल्केबर जाँदा उनी र म बीच संवाद हुने गथ्र्यो, मेरो घर अगाडीको डगरमा उभिएर।

मधेशी समुदायका भए पनि उनी प्रष्ट खस नेपाली भाषा बोल्थे। सेतो धोती र कुर्थामा ठाँटिएर हिँड्थे तिनै काका रामशुन्दर महतो। मेरो मात्रै होईन, उनी म जस्ता धेरै युवाका काका थिए। अर्थात् उनलाई धेरैले काका भनेर सम्बोधन गर्थे।

साबिक ढल्केबर २ निवासी महतो बिहान बेलुका चिया खान ढल्केबर चोक पुग्थे। र, चिया पसलमा जम्थ्यो राजनीतिक कुराकानी। कहिलेकाहीँ म पनि उनीसँगै जान्थेँ चिया पसल। हामी एकै गाउँका।

महतो गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीका स्थानिय नेता थिए। कतिपय विरोधीहरुले महतोलाई अलुवा नेता भनेर कुरासमेत काट्थे। हँसमुख महतो भने मुस्कुराईरहन्थे। महतोको घर ढल्केबर चोकबाट करिब २ किलोमिटर दक्षिण गाउँमा पर्छ। कृषिले उनको परिवारको गर्जो टथ्र्यो।

ती नै महतोका पार्टीका नेता राजेन्द्र महतो स्वास्थ्य तथा जनसंख्यामन्त्री भए। ढल्केबरमा उपचार नपाएर अकालमा मर्नेहरुको सँख्या बढ्दो थियो। उपचारको लागि सदरमुकाम जनकपुर धाउनुको विकल्प थिएन। मधेशी समुदायलाई हेलाहोँचो गर्ने भएकाले पहुँच भए पनि थोरै मात्र काठमाडौं जान्थे।

ती नै रामशुन्दरको दिमागमा एउटा आईडिया फुर्यो। आफ्नो पार्टीको नेता स्वास्थ्यमन्त्री भएको बेलामा आफ्नो गाउँमा सुविधा सम्पन्न अस्पताल किन नखोल्ने ? अस्पतालको विषयमा उनले गाउँलेहरुसँग छलफल गरे। कतिपयले हावा कुरा गर्यो पनि भने। तर धेरैजसोले उनको अस्पताल ल्याउने प्रस्तावको समर्थन गरे।

वडा नम्बर २ का स्थानीयसँग प्रत्येक घरधुरी २ सय रुपैयाँका दरले आर्थिक संकलन गरियो। समिति गठन गरियो। गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयसँग सिफारिस लिईयो।

अस्पताल ल्याउने पहल गर्न काठमाडौं जानुपर्ने हुन्थ्यो। यातायात र खानबस्नका लागि खर्चको आवश्यक पथ्र्यो। त्यसैले साबिक वडा नम्बर २ का स्थानीयसँग प्रत्येक घरधुरी २ सय रुपैयाँका दरले आर्थिक संकलन गरियो। समिति गठन गरियो। गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयसँग सिफारिस लिईयो। र, ट्रमा सेण्टरका लागि तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोसँग प्रस्ताव गरियो। स्वास्थ्यमन्त्रीले प्रकृया अघि बढाए। तर सरकार ढल्यो। कांग्रेसको नेतृत्वमा सरकार बन्यो। तर पनि रामशुन्दर काकाले पहल छाडेनन्।

‘रामशुन्दरजी २० बर्षसम्म ढल्केबरमा ट्रमा सेण्टर ल्याउन निरन्तर लागिरहनुभयो’, ट्रमा सेण्टरको सिफारिस गरिदिने तत्कालिन ढल्केबर गाउँपालिकाका अध्यक्ष तथा हालका मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो सम्झन्छन्।

स्वस्थ्य मन्त्रालयले त्यतीबेलै योजनामा हालेको ५० शैयाको अस्पतालसहितको ट्रमा सेण्टर निर्माणका लागि ढल्केबर भनेरै किटान गरेर वर्तमान केपी शर्मा ओली सरकारले बजेट छुट्यायो। तर बिडम्बना प्राविधिकहरुले ढल्केबरमा छुट्याईएको जग्गा अनुपयुक्त भनेर ट्रमा सेण्टर लालगढलाई उपयुक्त ठहर गरेको जिकिर मिथिला नगरपालिकाको छ।

जानकारहरुका अनुसार दुर्घटनाजन्य घटनामा परेकालाई तत्काल उद्धार गरि रेस्क्यू र उपचार गर्नको लागि ट्रमा सेण्टरको अवधारणा ल्याईएको हो। तर, ढल्केबरबासी बजेटमा ढल्केबर भनेर किटान गरिएकाले ट्रमा सेण्टर लालगढमा होईन, ढल्केबरमै बन्नुपर्ने अडानमा छन्। ढल्केबरमै राजमार्ग छोएको जग्गा उपलब्ध गराउन सकिने उनीहरुको भनाई छ। यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

एउटा रामशुन्दरले पहल गर्दा ट्रमा सेण्टर आउँछ भने आफूलाई नेता भनेर कहलाउनेहरुले किन अन्य विकास ल्याउन पहल गरेनन् त ?

अब प्रसंग बदलौँ। ढल्केबर विकासमा किन पछि पर्यो ? ढल्केबरलाई इटहरी र बर्दिवासले विकासमा किन उछिन्यो ? जबकि ढल्केबर तरकारीले देशभरी चिनिएको ठाउँ थियो। टमाटार किन्न त भारतबाट समेत ब्यापारी आउँथे। पूर्वको प्रवेशद्वारको रुपमा चिनिएको ढल्केबरको काँचुली किन फेरिन सकिएन होला ? आउनुहोस् बहस गरौँ।

कुनै पनि ठाउँको विकास हुन पहिला दूरदर्शी राजनीतिक नेतृत्वको आवश्यक पर्छ। त्यसपछि नेतृत्वलाई घचघच्याउने नागरिक समाज अथवा सचेत नागरिकको आवश्यकता पर्छ। उसो भए के ढल्केबरमा दूरदर्शी नेतृत्व जन्मिएन त ? जन्मियो। उदाहरणका लागि ट्रमा सेण्टर ल्याउन पहल गर्ने रामशुन्दर महतोलाई लिन सकिन्छ। एउटा रामशुन्दरले पहल गर्दा ट्रमा सेण्टर आउँछ भने आफूलाई नेता भनेर कहलाउनेहरुले किन अन्य विकास ल्याउन पहल गरेनन् त ? अहिले जसले राजनीतिक नेतृत्व गरिरहेकाछन्, उनीहरुमा दूरदर्शिता देखिदैन। ढल्केबर बनाउँ भन्ने ईच्छाशक्ति देखिदैन। मै खाउँ मै लाउँ भन्ने स्वार्थबाट निर्देशित नेतृत्वको विकास भएको छ।

ढल्केबर बनाउँ होईन, जग्गा जोडौँ र घर बनाउँ अनि सम्पति थुपारौँ भन्ने सिद्धान्तबाट नेतृत्व निर्देशित छ। बर्तमान नेतृत्वहरुले जोडेको जग्गा र ठड्याएको घरहरुले यही पुष्टी गर्छ।

र हामी नागरिक पनि राजनीतिक रुपमा सचेत हुन सकेनौँ। राजनीतिक रुपमा सचेत नभएपछि सही नेतृत्व छान्न सकिदैन। दूरदर्शी र पारदर्शी नेतृत्वको छान्न नसक्दा ढल्केबर पछि पर्यो। यो ध्रुवसत्य हो।

बन्न लागेको ट्रमा सेण्टरको नाम रामशुन्दर महतो ट्रमा सेण्टर राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चहान्छु।

उसो भए अब के गर्ने त ? अब सचेत नागरिकहरु संगठित हुनुपर्छ। विगतबाट पाठ सिक्दै वर्तमानमा आत्मालोचना गर्दै भविष्यका लागि हामी गम्भीर बन्नै पर्छ। नेतृत्व चन्द्रमाबाट झर्दैन, हामीबीच नै हुन्छ। पहिचान गर्न आवश्यक छ। यसका लागि सबैभन्दा पहिला हामी राजनीतिक रुपमा सचेत बन्नै पर्छ। युवाहरु राजनीतिक रुपमा संगठित बन्नै पर्छ। र सचेत, दूरदर्शी, पारदर्शी र सामूहिकतालाई आत्मसात गर्ने जिम्मेवार नेतृत्वको छनौट गर्न सक्नै पर्छ।

अन्त्यमा , घरधुरी २ सय रुपैयाँ आर्थिक संकलन गरेर ढल्केबरमा ट्रमा सेण्टर ल्याउन पहल गर्ने मृत्युवरण गरिसकेका काका रामशुन्दर महतोप्रति हार्दिक श्रद्धाञ्जली तथा नमन। र, बन्न लागेको ट्रमा सेण्टरको नाम रामशुन्दर महतो ट्रमा सेण्टर राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चहान्छु।

प्रकाशित मिति: : 2021-06-12 12:57:00

प्रतिकृया दिनुहोस्