लागला चैतको महिना,पलाउन्या हुन,पाला।
पातभरि किराले खायो,गाई भैसी क्या खाला।।
देउडा गीतको यो हरफ जस्तै भएको छ, दैलेखका १४ वटा सामुदायिक र राष्ट्रिय वन। सधैँ पालुवा पलाएर हराभरा हुने यहाँका सालघारी आजभोली उराठ लाग्दा छन्। रुखमा कतै पात छैनन्, नाङ्गै छन्।
सधैँ विभिन्न चराचुरुङ्गीको आवाजले गुन्जायमान हुने वन सुनसान छन्। पालुवा नहुँदा बसन्त ऋतुमा न्याउली चरीको आवाजसमेत सुनिएन।
वन क्षेत्र सुकेको देखिन्छ भने डाठ मात्र छन्, पात छैनन्। झुसिल्किराले पालुवा पलाउन थाल्ने समयमा मुना खाइदिएपछि ती वन उजाड जस्तै देखिएका हुन्। वैशाख र जेठमा समेत पालुवा पलाउन नपाउँदा वन नै सुक्न थालेपछि स्थानीयबासी चिन्तामा छन्। किराले पालुवा खाइदिएपछि यसको प्रत्यक्ष असर कृषकले पालेका गाई बस्तु र बाख्रा फर्ममा समेत परेको छ। एक हजार एक सय ६७ दशमलब ३८ हेक्टर वन क्षेत्र सखाप भएको छ।
गतवर्ष बैशाखबाट ती वनमा यो समस्या देखिएको हो। पात नझर्नेबेला पात झरेपछि कसरी यो समस्या आयो भनेर कृषक अचम्ममा परेका थिए। कृषकले सामान्य रुपमा लिएकाले विस्तारै सालका पातहरुमा प्वाल देखिन थाल्यो। हरियो वन सुकेर खडेरी परेजस्तो देखिएपछि स्थानीयहरुले बल्ल थाहा पाए, सालको पातमा त कीरा पो लागेको रहेछ भन्ने।
स्थानीयहरुका अनुसार सालको पातमा १५/२० वटासम्म झुसिल्किरा देखिन्थे। बोट विरुवा बाटै झुसिल्किराको असर स्थानीयबासीमा देखिन थाल्यो। माकुराको जालो रेशाले रुख जेलिएको देखियो। जंगलको बाटो भएर ओहोरदोहार गर्नेको अनुहारमा टाँसिने, छाला चिलााउने, फोक्का उठ्ने, अनुहारमा रातो दाग बस्नेजस्ता समस्या देखिन थाल्यो।
स्थानीयबासी जंगलको बाटो हिँडन छाडे,मध्यवर्ती सामुदायिक वनकी वनपाले सिता मल्लले बताइन्।
झुसिल्किराले एक बर्षदेखि नै एकपछि अर्को रुख, एक ठाउँपछि अर्को ठाउँ हुँदै सालघारीलाई पातविहिन बनायो। गत वर्षको असारमा भारत हुँदै नेपाल पसेको सलहले पो यस्तो भएकोे हो कि भन्ने अड्कल काटेर बसेको स्थानीय बुढापाकाहरु बताउँछन्। तर सलह रोकिए पनि यो सालघारी झन् उजाँड बन्दै गएपछि स्थानीयबासीमा वन नै सुकेर जाने होकी भन्ने चिन्ता उत्तिकै छ।
कीराको प्रकोपले खेतबारीका बालीलगायत वन र वनजन्य व्यवसाय संकटमा परेको वनपाले मल्लले बताइन्। कृषकहरु जंगलमा घाँस काट्न जादा झुसिल्किराको झुसले छाला चिलाएपछि घाँस काट्न जान छाडेका छन्।
‘हामीले गाउँवस्तुलाई खुवाउन घाँस काट्न जानै सकेनौं। न त स्याउला लिन बनमा जान सकेका छौं,’ मल्लले घरको पिढीबाट झुसिल्किरा बढारेर थुपारेको थुप्रो देखाउँदै चिन्ता व्यक्त गरिन। उनले थपिन्, ‘झुसिल्किराले गर्दा घरै छोडेर अन्तै जान पाए हुन्थ्यो जस्तो भएको छ।’
झुसिल्किराको प्रकोपले पात विनाश तथा जनजीवन नै प्रभावित भएको छ। वन उजाडबारे स्थानीय सरकारदेखि वन कार्यालयसम्मका अधिकारीहरु अनविज्ञ छन्। वन कृषकको नभई झुसिल्किराको मात्र भएको छ।
किराको प्रकोपले बाख्रा फर्म विस्थापित
झुसिल्किराको प्रकोप बढेर वन विनाश गर्न थालेपछि नारायण नगरपालिका– ९ का युवा उद्यमी महेन्द्र बिक्रम खड्काले बाख्रा फर्म बन्द गरे।
तीन वर्षअघि खाली जग्गा भाडामा लिएर बाख्रापालन गरेका खडकाले घाँसको अभावमै बाख्रा विक्री गरेको बताए। उनले भने, 'मैले ५० वटा बाख्राबाट व्यवसाय शुरु गरेको थिए। आम्दानी पनि राम्रै भएको थियो। झुसिल्किराको प्रकोपले घाँस जुटाउन सकिएन। जग्गामा लगाएको घाँसमा समेत नोक्सान गर्यो, कसरी बाख्रा पाल्ने ? बन्द गर्नुपर्ने बाध्यता भयो।'
उनले थपे, 'बारीमा साझ, नेपीयर आदि घाँस र चरन क्षेत्रमा चराएर तथा नजिकैको सामुदायिक वनको घाँस खुवाएर एक बर्षसम्म त राम्रैगरी बाख्रा पालेका थिए तर दोस्रो बर्ष लाग्दा ०७७ बैशाख महिनामै वनका रुखमा पात नासिदै गयो। पोहोरको बर्खासम्म त जेनतेन थेगिएको थियो। तर सालको जंगल हुँदै साझको रुखमा समेत प्रकोप देखिएपछि मैले बाख्राफार्म नै बन्द गर्नुपर्यो।’
बाख्रा फार्म बन्द गर्नु परेपछि दश लाख बराबरको नोक्सान भएको खड्काले बताए।
आयआर्जनमा समेत असर
सालको पात कीराले खाएर सखाप पारेपछि नारायण नगरपालिका वडा नं. –१ रातिमाटेका ३६ घरधुरीका दलितहरुको सामूहिक आयआर्जनको स्रोत टपरी उद्योग बन्द भएको छ। दलित परिवारका लागि आम्दानीको स्रोत बन्दै आएको टपरी उद्योग बन्द भएपछि के खाने भन्ने चिन्ताले पिरोलिन थालेका छन्।
आयआर्जन र जिविकोपार्जनका लागि दैनिक कामको खोजीमा दैलेख बजार जाने र ज्यालादारीमा मात्रै काम गर्ने उनीहरुको दैनिकी हो। यो नयाँ उद्योगले ती दलित परिवारमा जीविकोपार्जनमा सहयोग र आत्मनिर्भर हुन सक्ने आशा समेत जगाएको थियो।
२०६७ सालमा भुमिहीन १० जना महिलाहरुको समूह गठन गरि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जिल्ला लघु उद्यमी समूह संघको सहजीकरणमा २ लाख ५० हजार अनुदान उपलव्ध गराएको थियो। सामुदायिक वनको सहायतामा साझा सुबिधा केन्द्र भवन निर्माणका लागि ३ लाख ५० हजार लागतमा पूर्वाधारसहित टपरी उद्योग सञ्चालन गरिएको थियो।
उत्पादित टपरीलाई ‘दैलेख कोशेली घर’मार्फत बजारमा बिक्री हुन्थ्यो। दैलेख र सुर्खेतको बजारको मागलाई थेग्दै आएको थियो उद्योगले। मासिक एक लाखसम्म उत्पादन क्षमता भएको टपरि उद्योग अहिले बन्द छ। नियमित पातको अभावसँगै लामो समय बन्द हुँदा अहिले उपकरणमा समेत समस्या देखिएको छ। “कोभिड १९ को महामारीको अवस्थामा पनि टपरीको उच्च माग हुँदाहुदै उत्पादन गर्न नपाउँदा धेरै हाम्रो सानै भए पनि कमाई हुन्थ्यो, त्यो पनि खत्तम भयो।” उद्योगकी अध्यक्ष अमृता नेपालीले दुःखेसो गरिन्।
जनस्वास्थ्य पनि प्रभाव
किराको प्रकोप गाईवस्तु र उद्योगमा मात्र होइन जनस्वास्थ्यमा समेत असर पारेको छ।
नारायण नगरपालिका वडा नं. ७ किमुगाँउ ठकुरीटोलका स्थानीय किसान थिर बहादुर मल्ल नजिकैको खेतबारी आउँजाउँ गरिरहन्थे। तर गत माघमा नियमित खेतबारी आउने जाने क्रममै मल्लको आँखामा एक्कासी पोल्न थाल्यो। असह्य पीडा भएपछि उनले दैलेख बजारस्थित रेडक्रसको सोसाईटिको आँखा उपचार केन्द्रमा गएर आँखा जँचाए। अनि बल्ला थाहा भयो कि झुसिल्किराको झुस बिझेपछि त्यस्तो समस्या परेको रहेछ। त्यतिबेला उनको खेतसँगै जोडिएको सालघारीमा झुसिल्किरको प्रकोप व्यापक भइसकेको थियो।
झुसिल्किरा भएको घाँस खाँदा भैसी मर्यो
नारायण नगरपालिका –८ ढकानेका दिपक खनाल आम्दानीको स्रोत नै भैसी थियो। दुध बेचेर परिवारको गर्जो टार्ने गर्थे।
घरमा पराल सकिएपछि नजिकैको जंगलबाट घाँस ल्याएर भैसीलाई घाँस खुवाए। जंगलबाट आँखाले देखेसम्म भेटिएका झुसिल्किरा फालेर घाँस खुवाए। भैसी अर्को दिन विरामी पर्यो। पेट फुल्ने, केही नखाने भयो। दुई भैसीमध्ये एउटा भैसी चार दिनपछि म¥यो। लैनो भेसी मरेपछि खनालको आम्दानी घटेको छ।
जंगल छेउका सयाैँ किसानहरु यो प्रकोपबाट प्रत्यक्ष वा अप्रत्यक्ष पीडित बनेका छन्। जंगल छेउछाउका खेतीपाती र खासगरी तरकारी खेतीलाई पनि पिरोलेको छ झुसिल्किराले। स्थानीय दिलसरा मल्ल भन्छिन्, “जंगल सखाप पा¥यो, अहिले फेरि घर वरिपरि लगाएको तरकारीसमेत खाइसकेको छ किराले। अनि घरवरिपरि पनि फैलिएपछि दिनरात बढारेरै बस्ने काम मात्र हुन थालेको छ।”
जंगलमा सालको रुखबाहेक साझ, मौवा, आँपको रुखका पात समेत छैनन्। यो बर्ष नियमित रुपमा सालका बिरुवाहरुमा नयाँ मुनासहित पालुवा पलाउन त थाल्यो तर फेरि झुसिल्किरा सल्बलाइसकेका छन्। घना जंगली क्षेत्रको भुँईहरुमा झुसिल्किराकै थुप्रो लागेको छ, बिरुवाहरुमा पनि जालो लागेको छ।
सामुदायिक वन उपभोक्ता समूहहरु यो समस्यावारे छलफल गर्न बैठक बसे पनि समस्याको समाधान कतैबाट आएको छैन। उनीहरु यो समाधान गर्न स्थानीय सरकार प्रदेश सरकारलाई गुहार्ने तयारी गरिरहेका छन्।
लामो समयसम्म पनि हिउँदे बर्षा नहुँदा जंगलमा बैशाख पहिलो सातासम्म प्रशस्त मात्रामा झुसिल्किराहरुका लार्भा, प्युपा र पुतलीसंगै मेलीवग्स नाम गरेको अर्को किरा देखिएपछि किसानको चिन्ता बढदै गएको छ। यो प्रकोप डिभिजन वन कार्यालय, दैलेखका अधिकृतहरुले देखे पनि समाधान गर्नमा अनविज्ञ छन्।
कार्यालयका वन अधिकृत शंकर पुरीका अनुसार दैलेख जिल्लाको दर्जनभन्दा बढी सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रहरुमा यो झुसिद्यिकराको प्रकोप फैलिएको छ। यी वन क्षेत्रमा सोरिया रोबस्ट्रा प्रजातिको सालका रुखहरु बढी पाइन्छन्।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेतका अनुसन्धाता कमल अर्यालका अनुसार अध्ययनका क्रममा लाईमेन्सिया माथुरा नामक किराको प्रकोपले यस्तो भएको अनुमान छ। अर्याल भन्छन्, ‘यसबारे नेपालमा अहिलेसम्म खासै कुनै किसिमको अध्ययन नभएको तथा एकपटक देखा परेपछि बर्षौसम्म नदेखिने भएकाले यो अध्ययनको बिषय बन्न नसकेको कीरा मोथ प्रजातीमा पर्दछ।’
सालको रुखको लागि अभिसाप जस्तो देखिएको यस किसिमको प्रकोपले सालको रुखको बृद्धि विकासमा प्रत्यक्ष पभाव पार्ने कुरा अर्यालले बताएका छन्। यसरी नै नियमित पात सखाप पार्ने हो भने सालको रुख नै सुक्दै गएर जंगली क्षेत्र उजाड हुन सक्ने चिन्ता व्यक्त गर्छन् सहायक वन अधिकृत शंकर पुरी।
लाईमेन्सिय माथुरा के हो ?
सालको रुखमा संक्रामक रोगको रुपमा देखा परेको यो किराको एउटा प्रजाती हो। केही दशकअघि देखिएको भए पनि नेपालमा भने यस प्रजातीको बारेमा अध्ययन नभएको कुरा वन अधिकृत तथा अनुसन्धाताहरु बताउँछन्।
अण्डाबाट लार्भा बनेपछि निकै खन्चुवा हुन्छ। यसले खासगरि साल खान मन पराउँछ। एक पछि अर्को गर्दै रेशाजस्तो जालोको माध्यमबाट एक रुखबाट अर्को रुखमा सर्दै जान्छ। क्रमशःसबै जंगलकै पात खाएर सखाप पार्ने रहेछ। अनि सालका रुखहरु नांगै हुन्जेल पात खाइदिने रहेछ।
यसरी रुखले पनि पातमै उसको खाना तयार गर्ने र यसरी बर्षैभरि पातमा कीरा लाग्दा रुखको पनि विकास हुन नसक्ने वनविज्ञहरु बताउँछन्। गएको बर्षैभरि रुखमा पात नहुँदा रुखका अधिकांश टुप्पो सुकेको देखिन थालेको पनि स्थानीयहरु बताउँछन्।
बिषय निकै गम्विर छ । समयमै सम्वन्धित निकायको ध्यानाकर्षण हन जरुरी छ । अन्यथा पहाडि क्षेत्रबाट साल प्रजातिनै सखाप हुने छ ।