‘एक्लै काममा जान हिम्मत नै आउँदैन’

नयाँ पत्रिका दैनिक

- सुनिता परियार, सुलोचना पञ्चकोटी

यो देशमा दलितकी छोरीको बलात्कारपछि हत्या हुँदा न्याय दिनुपर्छ भनेर गैरदलित अग्रसर हुँदै सडकमा ओर्लिने दिन कहिले आउँछ होला ?

दुई हजार ७५ साल, असार १२ को बिहान
घरबाट बिदा लिई, माया ९ बजे हिँडिन्
साइकल चढी सरासरी फिल्ड जाँदै गर्दा
चपरथली जंगलमा दिउँसै लाग्यो पर्दा

माथिको कवितांश माया विकका मामा कमल विकले लेखेका हुन्। उनी कवि होइनन्, तर भान्जीको बलात्कार र हत्या भएपछि आफ्ना भावनाहरू डायरीमा लेख्ने गरेका छन्। त्यो डायरी सधँै साथैमा बोकेर हिँड्छन्। उनी भन्छन्, ‘मेरी भान्जीको हत्या भएको खबर सबैको कानमा पुगोस् भनेर यो डायरीको कविता सुनाउँदै हिँड्छु।’

माया कैलाली, गौरीगंगा नगरपालिका–११ शान्तिपुर बस्तीमा बस्थिन्। प्लस टु पढ्दै गरेकी उनी गाउँमा सबैको प्यारी थिइन्। उनकी आमा आफूले पढ्न नपाए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बोकेर वैदेशिक रोजगारमा गएकी थिइन्। छोरीले नगरपालिकामै तथ्यांक संकलन गर्ने जागिर पाएपछि उनकी आमा निकै खुसी थिइन्। तर, त्यो खुसी धेरै समय कायम रहेन। मायाको हत्यासँगै त्यो खुसी सधँैका लागि बिलायो। 

मायाका बुबा दीर्घरोगी छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले औषधी खान पनि धौधौ छ। छोरीको हत्याको घाउ सेलाउन नपाउँदै देउसरा फेरि फर्किइन् सात समुद्रपारि।

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन। विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए। गाउँलेहरू भन्छन्, ‘माया हाम्रा लागि अँध्यारोमा बल्ने बत्ती जस्तै थिइन्। के गर्नु पापीहरूले निभाइहाले।’

प्रकाशित मिति: : 2021-06-12 11:35:00

प्रतिकृया दिनुहोस्