बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा मुगुबाट मोहन बानियाँ मन्त्री बनेपछि जिल्ला सदरमुकाम गमगढीमा दिपावली गरि खुसियाली मनाइएको छ।
निवर्तमान सांसद तथा नेकपा एमाले कर्णाली प्रदेश सह-इन्चार्ज र मुगु तथा जुम्ला जिल्लाको पार्टी इन्चार्ज मोहन बानियाँ मन्त्रिपरिषद्मा समेटिएपछि गृहजिल्लामा दिपावली गरिएको हो।
मुगु जिल्लाबाट हालसम्म कुनै पनि राजनीतिक दलका नेताले मन्त्री हुने मौका पाएका थिएनन्। यसअघि नेपाली कांग्रेसबाट हस्तबहादुर मल्ल शिक्षा सहायक र राज्यमन्त्री, नेकपा मालेबाट मानबहादुर शाही भूमी सुधार तथा गरिबी निवारण राज्यमन्त्री भएका थिए।
०३६ सालमा विद्यार्थी राजनीति सुरुवात गरेका बानियाँ २०४० देखि ०४८ सम्म शिक्षण पेशामा संलग्न थिए। २०४७ मा मालेको सदस्यता लिएका उनी २०५४ मा जिल्ला विकास समितिको सभापति र ०५१ सालमा सुकुम्बासी समस्या समधान आयोगका मुगुका अध्यक्ष बनेका थिए।
२०६४ मा एमाले मुगुको सचिव र २०६९ मा अध्यक्षमा निर्वाचित भएका बानियाँ नेकपा एमाले मुगु जिल्लाका संस्थापक नेता हुन्। २०७१ को नवाैं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी एमाले मुगु जिल्ला इन्चार्ज हुन्।
२०७० सालमा भएको संविधान सभामा सदस्यमा प्रत्यक्ष निर्वाचित बानियाँ २०७४ सालको संघीय संसदका समानुपातिक सदस्य निर्वाचित भएका थिए।