पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७८ प्रतिशत निर्माण सकियो, डिसेम्बरसम्म सम्पन्न होला ?

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७८ प्रतिशत सकिएको छ। अहिले टर्मिनल भवनको डेकोरेसन, फिनिसिङको काम भइरहेको छ।

हालसम्मको प्रगति र योजनाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीले बताए। विमानस्थल निर्माणको काम आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। “अहिलेसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म निर्माण कार्य सकिन्छ,” उनले भने।

यसअघि जुन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

कोभिड १९ का कारण करिब ३ महिना निर्माण कार्य पूर्ण रूपमा काम रोकिएको थियो। चिनियाँ कामदार आफ्नो नयाँ वर्ष मनाउन चीन गएका र सो समयमा चीनमा देखिएको कोरोनाका कारण उतै रोकिएका थिए। पछि उनीहरूलाई नेपाल ल्याएपछि नेपालमा पनि कोरोना संक्रमणका कारण काम रोकिएको थियो।

कोरोनाका कारण सीमा नाका बन्द हुँदा निर्माण सामग्री पनि रोकिँदा काम प्रभावित भएको उनले बताए। तर पनि हालसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म सम्पन्न हुने देखिएको उनकाे भनाइ छ।

विमानस्थलमा टावरसहित ७ वटा भवन निर्माण सम्पन्न भइसकेको छ। यद्यपि कोरोनाको पहिलो र दोस्रो लहरका कारण विदेशबाट प्रविधि एवम् प्राविधिक ल्याउन नसक्दा आयोजनालाई असर परेको उनले बताए।

प्रकाशित मिति: : 2021-06-09 20:03:00

प्रतिकृया दिनुहोस्