विचार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने त्यही मिडियाले आफ्नो वैचारिक लाइनभन्दा बाहिरको विचारलाई ढिम्किन दिएन भने त्यहाँ पनि हिसाब गडबड हुन्छ। यो आफैंमा दोहोरो मापदण्ड हो। घुमीफिरी गणित उही हुन आउँछ- लोकतन्त्र र बहुलवादको नाममा एकल विचारधाराको पक्षपोषण।
'म तपाईंको भनाइसँग सहमत छैन। तर, तपाईंको बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाउ गरिरहनेछु।’
फ्रान्सेली दार्शनिक भोल्तेयर (सन् १६९४-१७७८) को यो भनाइलाई अभिव्यक्ति स्वतन्त्रताका हिमायतीहरूले प्रेमपूर्वक उच्चारण गर्छन्। यसले अभिव्यक्ति स्वतन्त्रताको नाभी ठम्याएको छ। अभिव्यक्ति स्वतन्त्रताको मर्म र धर्मलाई यति गजबसँग प्रतिनिधित्व गर्ने अर्को दमदार भनाइ भेटिन्न।
आफ्नो विचार राख्न र सत्य बोल्न मानव समाजले लामो सङ्घर्ष गर्नुपरेको छ। सत्य बोल्ने आँट गरेकाले नै सुकरात, ग्यालिलियोजस्ता विश्वविख्यात व्यक्तित्वले तत्कालीन सत्ताबाट अनेकौँ यातना भोग्नुपरेको र जीवन बलि चढाउनुपरेको थियो।
सत्य बोल्दा यी वैचारिक शहीदले भोग्नुपरेको यातना र कष्टलाई मनन गरेर नै भोल्तेयरले अभिव्यक्ति स्वतन्त्रताबारे यति उदार धारणा अघि सारेको हुनुपर्छ।
दुनियाँ वैचारिक लडाइँको रणभूमि हो। यहाँ अनेकौँ विचारको लडाइँ जारी छ। दुनियाँमा विचारको प्रतिस्पर्धा छ। वैचारिक प्रतिस्पर्धाले नै विचारलाई बलवान् र तेजिलो बनाउँछ। यसका लागि वैचारिक लडाइँ आवश्यक छ। वैचारिक लडाइँको पनि आफ्नै नियम र आचारसंहिता छ।
वैचारिक लडाइँको मैदानमा विश्वचर्चित बेलायती दार्शनिक जे.एस. मिल (सन् १८०६-१८७३) रेफ्री बनेर उभिए। मिलले सन् १८५९ मा प्रकाशित आफ्नो कृति अन लिबर्टी मा विचारको बजार (मार्केटप्लेस अफ् आइडियाज्) शब्दावली प्रयोगमा ल्याए। मिलले यस शब्दावलीमार्पmत विचार पनि खुल्ला बजारमा राखिएका प्रतिस्पर्धी वस्तुजस्तै हुन् भन्ने धारणा अघि सारे।
विचारको लडाइँमा प्रतिस्पर्धी विचारलाई प्रतिबन्ध लगाएर होइन, बरू त्यसैसँग कडा प्रतिस्पर्धा गरेर विचारको आधिकारिकता वा सत्य पुष्टि गर्न सकिन्छ भन्ने धारणा जे.एस. मिलको छ।