गाउँको बीचमा बसेको भन्दै दलितमाथि कुटपिट, प्रहरीले पनि लिएन उजुरी 

कमल प्रभात

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ध्यादुमका हरि नेपालीको घरमा स्थानीयले आक्रमण गरेका छन्। 

स्थानीय गोविन्द श्रेष्ठ र उनीकी श्रीमती ललिता श्रेष्ठले उनीहरुलाई दलित भएर गाउँको बीचमा घर बनाएको भन्दै कुटपिट गरेका हुन्।

सुरुमा उनीहरुले आगनमा काम गर्दैै गरेकी विष्णुमाया नेपालीलाई कुटपिट गरे। श्रीमतीलाई कुटपिट गरेको थाहा पाउनासाथ उनका पति भित्रबाट हतारिँदै बाहिर के निस्किएका थिए, उनी माथि पनि ढुङ्गामुढा प्रहार गरियो।  

उनीहरुले नेपाली दम्पतीमाथि कुटपिट मात्रै गरेन्न। दलित भएर नेवार बस्तीबीचमा घर बनाएको भन्दै तथानाम गाली गरे। गाउँ छोड्न धम्कीसमेत दिए।


गाउँ छाड्न भन्दै दलित परिवारमाथि निर्घात कुटपिट

एक घर मात्रै नेपाली (दमाईं) को घर छ– ध्यादुममा। उक्त परिवार करिब २० वर्षअघिदेखि बस्दै आएको थियो। सुरुमा हरि नेपालीको घर एक्लै थियो। उनको परिवार बस्न थालेपछि सो ठाउँमा नेवारहरु पनि बस्न सुरु गरे। पछि अवस्था यस्तो भयो– हरि नेपाली नै नेवार बस्तीबीचमा एक्लो दलित बसेको देखिन पुगे। 

ठूलो संख्यामा रहेका अन्य समुदायले उनलाई दलित भएकै करण पटक–पटक बसाइँ सर्न दबाव दिन थाले। धेरै पटक धम्की दिए पनि हरिले ‘अटेर गरेको’ भन्दै घरमै आएर कुटपिट गरेको पीडित नेपालीले बताएका छन्। 

कुटपिटपछि पनि बारम्बार धम्की आउन थालेका कारण नेपालीको परिवार करिब तीन दिनसम्म डराएर घरमै ‘बन्दी’ भयो। जातीय विभेदकै आधारमा आक्रमण भएको थाहा पाएपछि स्थानीय युवाको सहयोगमा जेठ २३ गते उनी उजुरी लिएर इलाका प्रहरी जलवीरे पुगेका थिए। 

इलाका प्रहरी कार्यालय, जलवीरेले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जान मात्रै भनेन्, घटनाको प्रमाणसमेत नष्ट गरिदिएको छ। पीडित हरि नेपालीले भने, ‘जलवीरे प्रहरी कार्यालयका एक जना प्रहरीले ममाथि कुटपिट हुँदा मोबाइलमा खिचेको भिडियो समेत ‘डिलिड’ गरिदिए।’ 
नेपालीले भने, ‘ममाथि कुटपिट गर्दाको भिडियो हेर्छौैं भनेर प्रहरीले माग्नुभयो। मैले मोबाइल नै दिएँ, हेर्नुस् भनेर। जिल्ला प्रहरी कार्यालय पुगेर मोबाइलमा हेर्दा त भिडियो नै रहेनछ। पुलिसले हटाई दिएछन्।’

जिल्ला प्रहरी कार्यालय, चौतारामा जेठ २४ गते पुगेका उनीहरुसँग प्रमाण नभएको भन्दै प्रहरीले उजुरी लिन मानेन। उल्टै उनीहरुलाई हप्काएर घर फर्कायो।  

पीडितसँगै उजुरीका लागि जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीय सुशील नेपालीले भने, ‘न्याय खोज्न हामी पनि उहाँसँगै जिल्ला प्रहरी कार्यालय पुगेका थियौं। प्रहरीले त हामीलाई उल्टै यस्ता कुरा लिएर आउने भन्दै हप्काउनुभो। यस्ता सामान्य कुरा गाउँमै मिलाउनू भनेर फर्काइदिनुभो, उजुरी पनि दताए गर्नुभएन।’  

सुशीलका अनुसार, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले आफैँ मिल्नुहोस् भनी मुद्दा दर्ता नै गर्न मानेका थिएनन्। प्रहरीले आफैँ मिल्न भने पनि अवस्था सहज नभएको पीडित हरिकी पत्नी विष्णुमाया नेपालीले बताइन्। 

‘एकछिन मिलेजस्तो त गर्लान्, फेरि हामीलाई धक्याइहाल्छन्। एक पटक भए पो हामीले सहनू,  सधैँ यस्तै  हो धाकधम्की !’, विष्णुमायाले भनिन्।

प्रकाशित मिति: : 2021-06-08 15:03:00

प्रतिकृया दिनुहोस्