सोनु निगमले तारिफ गरेका प्रमोद खरेल– जसले पीएचडी रोकेर एल्वम निकाले

कृष्णउदाशी

काठमाडौँ

गायक प्रमोद खरेल। यतिबेला उनी 'द भोइस अफ नेपाल' मा कोचको भूमिकामा व्यस्त छन्  जीवनको झण्डै अढाई दशकलामो अनुभव उनी त्यहाँ प्रयोग गरिरहेका छन्। नयाँ पुस्तामा अर्को प्रमोद खरेल  खोज्ने कोशिशमा छन्। 

एकपटक भारतका चर्चित गायक सोनु निगमले खरेलका गीतहरू सुनेछन्– उनका सहयोगीहरूमार्फत्। जब उनले गीतहरू सुने, खरेलको खुब प्रशंसा गरेछन्।

पहिलोपटक  २०५६ सालमा गीत गाएर सुरु गरेको खरेलको औपचारिक सांगीतिक यात्रा अब भने साढे दुई दशकको आसपासमा पुगेको छ। यो यात्रामा उनले झण्डै  दुई हजार पाँच सय गीत गाएका छन्। कति गीत चर्चित भए कति गुमनाम भए त्यसको हिसाब किताब नै छैन। 

प्रणय एल्बम २०६७ बैसाख १ गते रिलिज भएको थियो। उक्त एल्बममा समाबेश भएको ‘मेरो दिल छ पोखरामा’ बोलको गजल त बैसाख १५ गतेसम्ममा देश व्यापी रुपमा चर्चाको शिखरमा पुग्यो। उक्त गजल हिट भइसकेपछि भने प्रमोद खरेलले फेरि कहिल्यै पनि पछाडी फर्केर हेर्नुपरेको छैन। 

आसाम जन्म, नेपालमा कर्म

प्रमोद खरेलको जन्म भारतको आसाम भएको हो। उनको बालापन र किशोरावस्था भने झापा जिल्लाको तत्कालीन बनियानी गाविसमा बितेको थियो। पछिल्लो राज्य पुनर्संरचना पश्चात भने उक्त गाविस कचनकवल गाउँपालिकामा समावेश भएको छ।

उनले आफ्नो उमेरको चार दशकभन्दा धेरै समय बिताइसकेका छन्। उनका बुबाको नाम बलभद्र खरेल र आमाको नाम विष्णु शर्मा खरेल हो। उनका बुबाआमा शिक्षक/शिक्षिका थिए र बुबा ब्यापार पनि गर्थे। प्रमोद खरेल उनका बुबा-आमाका पहिलो सन्तान हुन्।

उनका एक जना भाइ र एउटी बहिनी छन्। सानो छँदा उनको घरमा बोलाउने नाम अशोक थियो। स्कुलमा उनका बुबा-आमाले 'प्रमोदबाबु खरेल' भनेर नाम लेखाइदिएका थिए। प्रमोदसँग जोडिएको ‘बाबु’ उनलाई राम्रो लागेन, उनले कक्षा ६ मा पढ्दादेखि रजिष्टरमा आफ्नो नाम प्रमोद मात्र लेख्न लगाएका थिए।

उनी पढाइमा सानैदेखि तिक्ष्ण थिए। पढाइ राम्रो भएको कारण उनी स्कुल बेलामा अभिछिन्न प्रथम विद्यार्थी थिए। गणित–विज्ञानका कठिन सुत्रहरू हुन् या त कुनै पनि कुरा उनी एक पटक सुने र पढेपछि बिर्सन्न थिए। त्यसैले पनि उनी सधैँ प्रथमको प्रथम भए। उनी एस.एल.सी.मा पनि झापा जिल्ला टपर हुन्। पछि उनले कलेज पनि टप गरे।

जन्मजात कलाकार 

प्रमोद खरेल जन्मजात कला क्षेत्रमा आकर्षित थिए। एकल परिवार थियो। उनी सानो छँदा उनलाई हेरेर बस्न आमा बुबाको समय थिएन। घरमा धेरै काम भ्याउन पर्ने हुन्थ्यो। त्यस्तो बेलामा उनलाई कोक्रोमा हालेर घरका तमाम काम गर्नुपर्ने हुन्थ्यो। उनकी आमाले उनलाई कोक्रोमा हालेर कोक्रोमै रेडियो बजाएर छाडिदिन्थिन्। उनी त्यही रेडियोमा बजेका गीत सुन्दै रेडियोसँगै खेलेर बस्थे।

सानोमा रोइरहेका छन् भने उनलाई फकाउन उनकी आमाले रेडियोमा गीत बजाइदिने गर्थिन्। रेडियोमा गीत बज्न थालेपछि उनी चुप लाग्थे। त्यो बेलादेखि नै उनी गीत संगीतप्रति आकर्षित थिए।

प्रमोद खरेल सानैदेखि साह्रै इमान्दार थिए। उनी कतिसम्म इमान्दार थिए भने, साइकलका सौखिन उनलाई एक दिन बाले सोधे, ‘साइकल किनिदिऊँ ?’

प्रमोद आफैंले शर्त राखे ‘आठ कक्षामा स्कुल टप गरेँ भने किन्दिनु।’ नभन्दै आठ कक्षा स्कुल टप गरे। अनि बाबाले साइकल किनिदिए पनि।

सानोमा प्रमोद खरेल चलचित्र भनेपछि मरिहत्ते गर्थे। सकेसम्म उनी कुनै पनि चलचित्र हेर्न छुटाउँदैन थिए। साथीसँग गएर हेर्न पाए साथीसँग गएर हेर्थे, नत्र भने एक्लै भए पनि गएर चलचित्र हेर्थे। चलचित्र हेर्न टिकेट किन्न पैसा लाग्थ्यो। त्यसका लागि उनले पैसा जुटाउनुपर्ने हुन्थ्यो। पैसाको मामिलामा पनि उनी सानैदेखि एकदम होसियार थिए। उनी दशैँमा टिका लगाएर पाएका सबै पैसा एकदम सुरक्षित राख्थे।

धान शिला खाेजेका ती  दिन

तिहारमा देउसी खेलेर जम्मा गरेका पैसा एकदम सुरक्षित राख्थे। मंसिरमा धान काटेर उठाइसकेका खेतमा गएर छोडिएका धानका बालाहरू सिला गरेर जम्मा गरेको धान बेच्थे र आएको पैसा सुरक्षित राख्थे।

घरमा पनि खासै आर्थिक संकट थिएन। सानै भएकाले कतै जानुपर्दा गाडीले भाडा लिँदैन थियो। कतै जान पर्दा भाडाका लागि दिएको पैसा मास्दैनथे।

कहिले काही स्कुलमा खाजा खानका लागि दिएको पैसाले खाजा किनेर खाँदैन थिए। जताबाट, जहाँबाट भएपनि उनीसम्म आइपुगेको पैसाले अरु केटाकेटीले जस्तो बिस्कुट मिठाइ किनेर खाँदैन थिए।

यसरी जम्मा गरेको पैसा उनी चलचित्र हेर्नका लागि प्रयोग गर्थे। उनी चलचित्रप्रति यति आकर्षित थिए कि उनलाई आफुले हेरेका हरेक चलचित्रको सबै कुरा जानकारी हुन्थ्यो।

चलचित्रप्रति लगाव

चलचित्रका लागि गीत कसले लेखेको हो, संगीत कसले गरेको हो, निर्माता को हो, निर्देशन कसले गरेको हो, हिरोको नाम के हो? हिरोइनको नाम के हो ? ध्वनी सम्पादन कसको हो आदि सबै कुरा उनले कण्ठ गर्थे। चलचित्र हेरेर आएपछि कुन कलाकारले कस्तो संवाद कसरी बोलेको छन् उनी सकेसम्म जस्ताको त्यस्तै नक्कल गर्थे। गीत गाउँदा होस् अथवा कुनै पनि कलाकारको संवाद संप्रेषण गर्दा होस्, उनी हाउभाउ र आवाज पनि त्यही कलाकारको जस्तै बनाउने कोसिस गर्थे। 

उनी चलचित्रप्रति कतिसम्म आकर्षित थिए भन्ने कुरा कसरी पनि पुष्टि गर्न सकिन्छ भने, उनको विद्यालय उमेरमा ‘मनोकामना’ नामको एउटा पत्रिका प्रकाशन हुन्थ्यो। उक्त पत्रिकामा चलचित्र सम्बन्धिमात्र खबरहरू प्रकाशन हुन्थ्यो। उनी उक्त पत्रिकाको हरेक अंक खरिद गरेर पढ्थे। पढ्थे मात्र होइन उनी हरेक किताब कापीमा त्यही पत्रिकाको गाता लगाउँथे।

उनका कुनै पनि किताबमा मनोकामना पत्रिका बाहेक अरु पत्रिका अथवा क्यालेण्डरहरूको गाता लाग्दैन थियो। चलचित्र हेर्दा हेर्दा उनी सारै प्रभावित भइसकेका थिए। उनलाई चलचित्रमा बालकलाकार बन्ने यति धेरै सपना थियो कि, त्यो उनी वर्णन नै गर्न सक्दैन थिए। त्यो बेला शाही चलचित्र बोर्डका अध्यक्ष थिए यादव खरेल। चलचित्र हेर्दा हेर्दा चलचित्र बोर्डमा को कुन पदमा छ भन्ने कुरा उनलाई सबै कण्ठ भइसकेको थियो। उनले चलचित्र बोर्डका अध्यक्षलाई संवोधन गरेर बाल कलाकारमा अभिनय गर्न पाउँ भनेर पत्र पनि लेखेका थिए। 

एकदिन उनको नामको पत्र लिएर हुलाकी आयो। चलचित्र बोर्डको ठेगानाको पत्र देखेर उनी यति खुसी भए कि, त्यसको कुनै सीमा नै छैन तर पत्र खोलेर हेर्दा पो थाहा भयो, त्यो पत्र त उनले नै पो लेखेका रहेछन्। ठेगाना गलत भएर फर्केर आएको रहेछ। त्यस दिनदेखि चलचित्रमा बाल कलाकार बन्ने उनको सपना सकियो। 

संगीतको दुर्व्यसनी

पढाइमा तगडा विद्यार्थीले विज्ञान विषय लिएर पढ्नुपर्छ भन्ने पुरानै चलन हो। त्यो हाल पनि यथावत छ। एस एल सी मा जिल्ला टपर भएपछि प्रमोद खरेलको हकमा पनि त्यो लागु भयो। एस.एस.सी पास गर्दासम्म उनी भित्र गायक बन्ने कुनैपछि सपना पलाएकै थिएन। उनी डाक्टर बन्ने उद्देश्य बोकेर विज्ञान विषय पढ्न त्रिचन्द्र कलेज पुगे।

उनी विज्ञान विषय त पढ्न थाले तर पढिरहेको बेला पनि गीत बजिरहेको छ भने मात्रै उनको दिमागमा बस्थ्यो। गृहकार्य गर्दा होस् या त विज्ञानको प्रयोगशालामा प्रयोगात्मक क्रियाकलाप गर्दा होस् गीत नसुनी उनी केही गर्न सक्नै छोडे।

एकप्रकार उनी गीत संगीतको दुर्व्यसनी जस्तै भए। प्रमोद खरेलको हकमा गीत–संगीत आदत बन्यो, नशा बन्यो। त्यसो हुनुमा काठमाडौंमा प्रसस्तै खोलिएका एफएमहरूको पनि महत्वपूर्ण भूमिका छ।

रामकृष्ण ढकालकाे दबदबा

रामकृष्ण ढकालको समय थियो। जतापनि रामकृष्ण ढकालकै गीतहरू बज्थे। चलचित्रका गीतहरूले भन्दा एल्बमका गीतहरूले ज्यादा बजारमा पकड जमाएका थिए। आई.एस.सी पढ्दाताका नै उनलाई राम्रोसँग थाहा भइसकेको थियो कि गाउँ गाउँसम्म गीति एल्बमका चक्काहरू हजारौँ हजारको संख्यामा बिक्री भइरहेका थिए।

संगीत–शिक्षाको आरम्भ

उनले वि.एस.सी.को लागि भर्ना हुन बुबाले दिएको खर्चबर्च थपक्कै डोरेमी संगीत विद्यालयमा बुझाएर औपचारिक रुपमा संगीतको शिक्षा आरम्भ गरे। उनका संगीतका गुरु हुन् प्रविण बराईली र गुरुदेव कामत। क्याम्पस भने पछि ट्युसन पढाएर जम्मा गरेको पैसाले भर्ना गरे। 

प्रमोद खरेलको गायनप्रति उनका क्याम्पसका साथीहरू झनझन आकर्षिक हुँदै थिए। चमेना गृहमा मालपुवा खाँदै गीत गाउने र कक्षामा टेबल, कुर्सी ठटाउँदै गीत गाउने सिलसिला झनझन बाक्लो बन्दै थियो। वि.स.२०५६ सालमा उनले पहिलो पटक आफ्नो आवाजको परीक्षणको लागि एउटा गीत रेकर्ड गराए। 

“तँ चिता म पुर्‍याइदिन्छु”

५० को दशकको अन्त्यतिर जतिबेला उनी माष्टर डिग्रीको अन्तिम तयारी गरिरहेका थिए, सँगै उनी पहिलो एल्बम ‘प्राप्ती’को पनि तयारीमा थिए। त्यतिबेला उनका लागि एल्बम निकाल्न सजिलो भने पटक्कै थिएन। अरु कुराको त त्यस्तो गारो केही थिएन तर एल्बमको लागि लाग्ने खर्चको व्यवस्थापन नै उनको सबैभन्दा ठूलो चुनौति थियो।

जहाँ इच्छा त्यहाँ उपाय भन्ने चलन पनि छ, “तँ चिता म पुर्‍याइदिन्छु” भनेर दैवले भन्छ, भन्ने चलन पनि छ। भयो त्यस्तै, उनको दृढ संकल्पका अघि आर्थिक वाधक बन्न सकेन। क्याम्पस पढ्दाताका उनलाई हौसला दिने यति उर्जावान साथीहरू थिए कि उनी त्यो क्षण भावुक हुँदै सम्झिन्छन्। 
एकदिन शिक्षक नभएकाले कक्षा खाली थियो। उनलाई उनका साथीहरूले गीत गाउन लगाए। उनी कक्षाको अगाडी गएर गीत गाउन थाले। उनी गाउँदै गए साथीहरूको हुटिङ आउँदै गयो।

त्यही बिचमा गीत गाउँदा गाउँदै एकजना साथी उनीप्रति यति आकर्षित भए कि उनी डेस्क बेन्चको माथिमाथिबाट कुदेर आएर उनलाई अंगालो हाले र अटोग्राफ मागेका थिए। त्यो क्षण प्रमोद खरेलको जीवनकै अविष्मरणीय क्षण पनि हो।

साथीहरू प्रमोद खरेलका हौसला त थिए नै तर त्यो भन्दा माथि उनीहरू प्रमोद खरेलका सब थोक थिए। साथीहरूकै जोडबलमा उनको पहिलो एल्बम आएको थियो। उनले होम ट्युसन पढाएर जम्मा गरेको केही पैसा थियो, बुबाले झापाबाट पठाइदिएको केही पैसा थियो तर त्यतिले मात्रै एल्बम निकाल्न पुग्दैन थियो। बाँकी पैसा साथीहरूले पाँचसय, हजार, दुई हजार, पाँच हजार गर्दै जम्मा गरेर सहयोग गरेर एल्बम निकालेका थिए।

एल्बम त आयो तर एल्बमले खासै राम्रो परिचय दिन सकेन। उनलाई पनि एल्बम आइसकेपछि लाग्न थाल्यो मैले आफूलाई राम्रोसँग नचिनी एल्बम बजारमा ल्याएछु। त्यसपछि उनले आफुलाई खोज्ने प्रयास गरे। ३ वर्षसम्म उनले आफूलाई खोज्दा आफूलाई फरक ठाउँमा भेट्टाए। उनलाई लाग्यो आफ्नो स्केल त्यो होइन रहेछ। उनले त हाइ स्केलमा पनि गाउन सक्दारहेछन्।

त्यसपछि उनले आफ्नो दोस्रो एल्बम बजारमा ल्याए। दोस्रो एल्बमले उनलाई परिचय दिलायो। दोस्रो एल्बम पछि उनले प्रसतस्तै गीत पाउन थाले। गीतहरू चलिरहेकै थिए त्यसै बिचमा उनलाई पि.एच.डी. गर्ने रहर जागेर आयो। उनले त्यसका लागि तयारी पनि थाले। पि.एच.डी. को तयारीकै क्रममा तेस्रो एल्बम गर्ने मनमा रहर जागेर आयो। किन किन त्यो एल्बम चै गरेर पि.एच.डी. गरौँ भन्ने लाग्यो। 

प्रकाशित मिति: : 2021-06-08 16:07:00

प्रतिकृया दिनुहोस्