तेस्रो लहरमा बालबालिका बढी संक्रमणको जोखिममा, तयारी सुस्त

नेपाल खबर

काठमाडाैं

कोरोनाको तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नै सबै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड छुट्याउन निर्देशन दिइसकेको छ।

मन्त्रालयका प्रवक्ता तथा कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. कृष्णप्रसाद पौडेलले भारत र युरोपमा देखिएको तेस्रो लहरमा बालबालिका बढी प्रभावित भएको देखिएकाले नेपालमा पनि सचेत हुनुपर्ने अवस्था आएको बताए।

‘भारतको उत्तराखण्ड, महाराष्ट्र र युरोपतिर पनि तेस्रो लहरमा बालबालिकाहरु बढी संक्रमित देखिएका छन्,’ डा. पौडेलले भने, ‘यहाँ पनि देखिनसक्छ भनेर तयारी अवस्थामा रहन भनेका हौँ। १८ वर्षमुनिका बालबालिकालाई खोप नलगाएकाले पनि उनीहरु तेस्रो लहरमा संक्रमित हुनसक्ने जोखिम बढी छ।’

नेपालमा पहिलो लहरमा देखिएका जम्मा संक्रमितमध्ये ८ प्रतिशत बालबालिका छन्। तर, दोस्रो लहरमा बालबालिकामा संक्रमण केही बढेको छ। दोस्रो लहरमा १० प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १८ वर्षमुनिका ४५ हजार जनामा संक्रमण देखिसकेको छ। कोरोनाबाट हालसम्म ६० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयले तेस्रो लहरमा कति बालबालिका संक्रमित होलान् भन्ने आकलनका लागि सेरोप्रेभेलेन्स सर्भे समेत गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2021-06-06 19:06:00

प्रतिकृया दिनुहोस्