विश्वकप छनोट : बलियो टोली जोर्डनको सामना गर्दै नेपाल, यस्तो छ आकलन

नेपाल खबर

काठमाडौँ

लक्ष्मी जि.सी

कतार विश्वकप तथा एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपालले भोलि सोमबार बलियो टोली जोर्डनसँग खेल्दैछ।

घरेलु मैदानमा खेल्नुपर्ने खेल नेपालले कोरोना महामारीको कारण न्युट्रल भेन्यु (तटस्थ स्थान) का रुपमा कुवेतमा खेलिरहेको छ।

समुह चरणका ८ मध्ये ६ खेल खेलिसकेको नेपालले अब दुई खेल खेल्न बाँकी छ। छनोट चरणको समुह बी मा रहेको नेपालले सातौँ खेल जोर्डनसँग खेल्न लागेको हो। जोर्डनको भने यो छैटौँ खेल हो। खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे सुरु हुनेछ।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो। दोस्रो लेगमा नेपाल फरक रणनीतिमा मैदान उत्रने सम्भावना छ।

युवा टोलीले भरिएको नेपाली राष्ट्रिय टोलीको साथमा रहेका विदेशी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीलाई फरक रणनीतिमा मैदान उतारिरहेका छन्।

विश्वकप छनोटअघि इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपालले दुवै खेल फरक शैलीमा खेलेको थियो। विश्वकप छनोट अघिको इराकसँगको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका नवयुग श्रेष्ठ र मनिष डाँगीलाई चाइनिज ताइपेइसँगको खेलमा दोस्रो हाफमा मैदान उतारेका थिए।

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ। छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। अहिलेसम्म कुनै जित हासिल गर्न नसकेको चाइनिज ताइपेइ अंकविहीन छ।

प्रकाशित मिति: : 2021-06-06 16:57:00

प्रतिकृया दिनुहोस्