रसुवाको लाङटाङमा पहिलो पटक कोभिड उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान

माउन्टेन हर्ट नेपालले अमेरिकी संस्था डाइरेक्ट रिलिफबाट सहयोगस्वरुप प्राप्त ४ वटा अक्सिजन कन्सन्ट्रेटर, भोल्टेज रेगुलेटरलगायत स्वास्थ्य सामाग्री रसुवाको दुर्गम क्षेत्र गोसाईकुण्ड गाउँपालिका- ४ लाई हस्तान्तरण गरेको छ। 

वडा सदस्य छिरिङ फिन्जो लोपचनले शनिबार बिहान उपकरण ग्रहण गर्ने क्रममा कोरोना महामारीको समयमा देशैभरी अतिआवश्यक अक्सिजनको अभावको बेला रसुवाको दुर्गम क्षेत्रमा यो उपकरण उपलब्ध गराइदिएकोमा संस्थाप्रति आभार व्यक्त गरेका थिए।

उनले यसले सयौको ज्यान जोगिने बताए। स्थानीय समाजसेवी कर्मा स्याङवाले अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि उनीहरुको बाच्ने आशा जागेको बताए। 

रसुवा ट्रेकका सञ्चालक तथा युवा समाजसेवी गगनराज न्यापाने, युवा व्यवसायी तथा वडा सदस्य छिरिङ फिन्जो लोपचनको संयुक्त पहलमा माउन्टेन हर्टका अध्यक्ष डा. अवन गौतम स्वयम् उक्त उपकरण तथा स्वास्थ सामाग्री लिएर बिहान १० बजे लाङटाङको मुन्डु स्वास्थ्य चौकी पुगेका थिए। 

युवा पर्यटन व्यवासायी न्यौपानेले नौकुण्ड गाउँपालिकामा स्वास्थ्य उपकरण उपलब्ध गराउन प्रयास गरिरहेको समेत जानकारी दिए।  

त्यस्तै स्थानीय युवा शिक्षासेवी लाक्पा डेन्दुप लोप्चनले यो सहयोगले लाङटाङवासी अत्यन्तै हर्षित भएको बताए। उक्त उपकरण हेलिकप्टरमार्फत गाउँमा पुर्याउन रसुवाका संघीय संसद मोहन अचार्यले सहयोग गरेका थिए।

माउन्टेन हर्ट नेपालका संस्थापक अध्यक्ष डा. अवन गौतमले देशको दुर्गम क्षेत्र, जहाँ राज्यको पहुँच पुग्न नसकेको ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनु गर्वको कुरा भएको बताए। आगामी दिनमा पनि आफ्नो चिकित्सक पेशा सँगसँगै परोपकारी सेवामा निरन्तर लागिरहने उनको भनाई थियो।

माउन्टेन हर्ट नेपालले २०७२ सालको भूकम्प पश्चात नेपालको विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर तथा राहत बितरण गरेका थिए।

कोरोना महामारी सुरु भएदेखि मनाङ, मुस्ताङ, कास्की, म्याग्दी, रसुवा लगायत दुर्गम क्षेत्रमा कोरोना सम्बन्धी अति आवश्यक अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग प्रदान गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2021-06-05 17:52:00

प्रतिकृया दिनुहोस्