२१ वर्षपछि चित्रबहादुर केसीले किन छाडे काठमाडौँ?

नेपाल खबर

काठमाडाैं

कोठामा पंखा बेतोडले घुमिरहेको छ। तर, गर्मी अलिकति पनि कम भएको छैन।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी ‘भर्चुअल मिटिङ’ मा व्यस्त छन्। वाफिने गर्मीमा जुममा एक घण्टा बिताउन उनलाई हम्मे पर्छ।

बल्लबल्ल बैठक सकिन्छ। ८१ वर्षीय केसी तात्तिएको मोबाइल राखेर सोफामा सुस्ताउँछन्।

बिहीबार जुममार्फत गरेको यो उनको दोस्रो बैठक थियो। ४ बजेपछि उनी तेस्रो बैठकमा सहभागी हुने तय थियो।

२१ वर्ष काठमाडौँमा बिताएका केसी केही समययता भैरहवाको गर्मी खाइरहेका छन्। अनलाइनमार्फत हुने बैठक सकेर उनी बेला–बेला बरन्डामा निस्कन्छन्। अलिअलि हावा खान्छन् र फेरि कोठामा फर्कन्छन्। उनको मोबाइलको घण्टी बजिसकेको हुन्छ।

सबै काम फोनबाटै गर्नुपर्ने बाध्यतामा छन् उनी। तराईको हावापानीमा अभ्यस्त भइसकेका छैनन्। घरबाहिर निस्कन मिल्दैन। लुम्बिनी प्रदेशमा पनि निषेधाज्ञा लगाइएको एक महिना भइसकेको छ।

भैरहवाको ठुटेपिपलस्थित छोरी भानु जीसीको घरमा उनको दिनचर्या यसैगरी बितिरहेको छ।

गर्मीले उकुसमुकुस हुँदा उनलाई काठमाडौँको शीतल हावाको सम्झना आउँछ।

‘जस्तोसुकै गर्मी हुँदा पनि काठमाडौँमा यस्तो उखरमाउलो हुँदैनथ्यो,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2021-06-05 17:44:00

प्रतिकृया दिनुहोस्