चितवन । शुक्रबार बिहान पौने ९ जति बजेको हुंँदो हो । भरतपुरको एउटा चोकमा केही मानिसको भिड देखिन्थ्यो । हेर्दा लाग्थ्यो, त्यहांँ केही मेला महोत्सव या दुर्घटना भएर भएर मान्छे जम्मा भएका होलान् । तर, वास्तविकता फरक थियो । त्यो भिड कुनै मनोरञ्जन या खेलकुद प्रतियोगिता या कुनै सभा सम्मेलनको नभएर आफ्नो चुल्हो बाल्न र पेट भर्न पाउने आशमा आएका सुकुमबासी परिवारको थियो ।
उनीहरूको कोरोना कहरको बेला कसैले केही खानेकुरा दिन्छकि भन्ने प्रतिक्षामा थिए । अधिकांश नेपालीहरूको बिहानको खानाको लागि चुल्हो बल्ने समयमा उनीहरू भने चुल्हो बाल्नका चाहिने सामग्रीको प्रतीक्षमा थिए ।
नारायणगढको आसपासमा आंँपटारी भन्ने ठाउंँ छ । जहांँ झण्डै ४० वर्षअघिदेखि बुट्यान, झाडी फ्यांँकेर भूमिहीनहरू बस्दै आएका छन् । हाल उक्त स्थानमा झण्डै ३०० घरपरिवार रहेको अनुमान छ ।
त्यही बस्तीको एउटा चोकमा एक युवा व्यवसायी मनोज रानाभाटले आफ्नो जन्मदिनमा राहत सामग्री वितरण गर्ने तरखरमा थिए । त्यत्तिकैमा पहिलेनै राहत वितरणको सूचीबाट नाम आयो टीकासारी मगर्नी । दुई, तीनपटक बोलाउंँदा मात्र उनले आफूलाई बोलाइएको भनेर भेउ पाइन् । चाउरी परेको अनुहार, सेतै फुलेका कपाल, कुप्रो र दुब्लो शरीरले उनको पृष्ठभूमि, परिचय दिइरहेको आभाष हुन्थ्यो ।
“लकडाउन भएको डेढमहिनै हुन लाग्यो । राम्ररी खान सुत्न पाएकी छैन,” उनले भनिन, “अब गएर चामलको भात खाने हो ।”