कोरोना महामारीबीच फस्टाउँदैछ चिनियाँ ग्रामीण पर्यटन, नेपालमा नि ?

Breaknlinks
Breaknlinks

चीनमा पछिल्लो चरणमा ग्रामीण पर्यटन फस्टाइरहेको छ।

देशको विकास द्रूत गतिमा भइरहेका बेला शहरबासीहरू सरल जीवनको स्वाद लिन स–साना समुदाय, फार्म र बगैंचामा घुम्न रुचाइरहेका छन्।

चीनमा आन्तरिक पर्यटन फस्टाएको छ। त्यहाँको पर्यटन मन्त्रालयले सन् २०२१ मा चीनमा चार अर्बभन्दा बढी यात्रा हुँदैछ, जसको अनुमानित बजारमूल्य पाँच सय अर्ब अमेरिकी डलरभन्दा बढी हुने सीएनएनले जनाएको छ।

चिनियाँ पर्यटकहरू आफ्नो देशको ऐतिहासिक र प्राकृतिक चमत्कारमा मात्रै रमाइरहेका छैनन्, कतिपयले अलिक फरक खाले स्वाद पनि खोजिरहेका छन्।

विश्वमा फैलिरहेको कोरोना महामारीपछिको यात्रा–प्रतिबन्धले अन्तर्राष्ट्रिय पर्यटन प्रभावित भयो। कोरोना नियन्त्रण गरेको चीनले त्यसको विकल्पका लागि आन्तरिक पर्यटनलाई प्राथमिकता दियो जुन स्वाभाविक छ। चीनभित्र  युनेस्कोको विश्व सम्पदा सूचीमा परेका ५५ वटा स्थलहरू छन्। 

चिनियाँ पर्यटकहरू आफ्नो देशको ऐतिहासिक र प्राकृतिक चमत्कारमा मात्रै रमाइरहेका छैनन्, कतिपयले अलिक फरक खाले स्वाद पनि खोजिरहेका छन्।

चिनियाँ सोसल मिडिया साइट वेइबोलाई लेखिएको पोस्टमा एक प्रयोगकर्ता एन्काइलीले एक दिन 'मोल्बेरी' टिप्दै, धान उब्जाएको दृश्यावलोकन सँगै घरमा उम्रेको खाना खाएपछि धेरै खुशी लागेको जनाएकी छिन्। 

सामाजिक सञ्जालमा अर्का प्रयोगकर्ता लाओजेनइवेनले मे दिवसका दिनमा समुद्रमा माछा मार्दै त्यहाँको सामुन्द्रिक खाना खाएर छुट्टी मनाएको उल्लेख गरेका छन्। भीडभाडबाट टाढा बसेर खुशी भए उनीहरू।

विश्वको सबभन्दा ठूलो चिनियाँ स्वामित्वमा रहेको ट्रिपडटकम ग्रुप अनलाइन ट्राभल एजेन्सीले मार्च २०२१ मा चीनमा ग्रामीण पर्यटन यात्रामा वार्षिक तीन गुणाका दरले वृद्धि भएको जनाएको छ। यसबाट ग्रामीण पर्यटनमा काम गर्नेहरू हौसिएका छन्।

ट्रिपडटकमकै कुरा गरौँ न ! उसले ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न ‘पाँचवर्षे कार्ययोजना’ बनाइरहेको छ जसमा १० हजार व्यावसायिक एजेन्टले खेती गर्ने र ग्रामीण पर्यटन उद्योग कोषमा १ अर्ब युआन (१५० मिलियन डलर) लगानी गर्ने योजना छ। सांघाई टूर गाइड इन्टप्राइज म्यानेटमेन्ट कन्सल्टिङका संस्थापक तथा महाप्रबन्धक झो मिंकीका अनुसार चिनियाँ जनता देशका ठूला शहरमा व्यस्तता र अद्वितीय अनुभवहरूको अभावमा थकित भएका छन्।

‘साताको अन्त्यमा जीवनशैली परिवर्तनका लागि बेग्लै किसिमको अनुभव गर्नु जरुरी छ’, उनले भनेका छन्, ‘जस्तै मनमोहक दृश्यहरू वा ग्रामीण इलाकाको जीवन।’

सादा जीवन

वाङ शाङले ग्रामीण इलाकाको यात्रा र गतिविधिहरूको समन्वय र मद्दत गर्ने बेइजिङका एक कम्पनीमा काम गर्छिन्। उनले काम गर्ने एक होटलमा पाहुनाले आफैँ खाद्यान्न उब्जाउने, खेती गर्ने अभ्यास र त्यस क्षेत्रको परम्परागत शिल्प र चलनहरूको बारेमा अनुभव लिन सक्छन्।

‘धेरैजसो विकेन्ड ट्रिपका पाहुनाहरू किन्डरगार्डेन वा एलिमेन्टरी स्कूलका विद्यार्थी र उनीहरूका अभिभावक हुन्’, उनले भनिन्।
ग्रामीण इलाकामा केही होटलहरूले विस्तृत सेवा दिन्छन्। धेरैजसो चाहिँ साना होटल छन्। साना होटलमा स्ट्रबेरी टिप्ने, लोक संग्रहालयहरू भ्रमण गर्ने वा स्थानीय ओपेरामा जानेजत्तिकै सरल गतिविधिका हुन्छन्।

वाङको विचारमा गाउँ–गाउँमा छुट्टीका लागि उत्सुक हुने दुईवटा मुख्य कारणहरू छन्–एकान्तपन  र स्वस्थ जीवनशैली।

पूर्वी शान्दोङ प्रान्तको एउटा होटल, जहाँ वाङले काम गरिरहेका छन्, त्यहाँ प्रारम्भिक कोरोना महामारीको सबैभन्दा नराम्रो अवस्थापछि छुट्टी मनाउन खोज्नेहरू तुरुन्तै भरिभराउ भएका थिए।

‘ग्रामीण क्षेत्रमा जनसंख्याको घनत्व कम छ। भाइरस रोकथाम एवं नियन्त्रण राम्रो तरिकाले भएको छ। धेरै शहरीया परिवारहरू त्यहाँ जान इच्छुक हुन्छन्’, उनले भनिन्।

त्यति मात्र होइन, ग्रामीण क्षेत्रमा स्वस्थ र ताजा उत्पादनको सम्भाव्यताबाट पर्यटकहरू पनि आकर्षित भएका हुन्।

वाङले भनेका छन् कि ठूला शहरबाट आउने पर्यटक आँटा, चाउचाउ, मासु, अण्डा, मह र मदिरासहित सामान किन्न आउँछन्।

झाउले भनेअनुसार एक विश्वसनीय देशको अनुभवको उपस्थितिका बाबजूद, ग्रामीण होटल र गाउँको बढ्दो संख्याले आगन्तुकहरूलाई आकर्षित गर्न कोशिश गरिरहेका थिए।

‘प्रत्येक अभिभावक–बच्चाहरू यात्राका लागि फल टिप्ने र बिरूवा रोप्ने गतिविधिहरू व्यवस्थित गर्नेछौँ ता कि बच्चाहरूले अन्नबालीबारे सिक्न सकून्। अभिभावक पनि बच्चाहरूलाई माटोमा खेल्न लैजान इच्छुक हुन्छन्,’ उनले भने।

पाहुनाहरू गाउँमा सोया दूध पिउन, बङ्गुरका पाठा आदि हेर्न पनि रुचाउँछन्। लि जिकी जस्ता चिनियाँ इन्टरनेट इन्फ्लुएन्सरले ग्रामीण चीनमा शान्त सङ्गीतका लागि सेट गरिएको साधारण जीवनशैलीमा खिचिएको भिडियोले लाखौँ दर्शक पाइसकेका छन्।

एउटा भिडियोमा, लीले बिरुवाका लागि बीउ रोपेको र त्यसपछि सोया सस बनाएकी थिइन्। अर्कोमा, उनले कुनै रसायनबिना नै आरु र बेरी फलको जाम बनाएकी थिइन्। झाउले भनेअनुसार एक विश्वसनीय देशको अनुभवको उपस्थितिका बाबजूद, ग्रामीण होटल र गाउँको बढ्दो संख्याले आगन्तुकहरूलाई आकर्षित गर्न कोशिश गरिरहेका थिए।

केही ग्रामीण क्षेत्रहरूमा आकर्षण सुधारका लागि व्यावसायिक सङ्गठनहरू संलग्न भएका छन्। ‘अचेल धेरैजसो ग्रामीण क्षेत्रमा ठूला परिवर्तनहरू भएका छन्। विशेष गरी पर्यटनको जीर्णोद्धार गरेपछि यो विगतको भन्दा धेरै सुन्दर हुनेछ किनकि बिगतमा ग्रामीण क्षेत्रमा कुनै योजना र डिजाइन पनि थिएन। किसानहरूले केवल घरहरू बनाएका थिए’, उनी आशावादी छन्।

ग्रामीण पर्यटनद्वारा गरिबी उन्मूलन

महामारी वा शहरी जनजीवनबाट हयाङ्आउट हुने क्रम बढेकाले मात्र ग्रामीण पर्यटन फस्टाएको होइन। यसमा चीन सरकारको नीतिले पनि ठूलो काम गरेको छ। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सरकारले ग्रामीण क्षेत्रलाई पुनर्जीवित गर्न र गरीब उन्मूलन कार्यक्रममार्फत् गरीब नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

चिनियाँ ग्रामीण बासिन्दा ठूला अवसरका लागि शहरमा बसाइँ सर्दा, साना शहरहरूले आफ्नो समर्थनका लागि संघर्ष गरिरहेका छन्। राष्ट्रपति सी कालमा देशका प्रत्येक नागरिकलाई पूर्णरुपमा गरिबीबाट उठाउन सरकारले लगानी,  ऋण र सार्वजनिक कामको बृहत्तर कार्यक्रम अगाडि कढाएको छ।

सन् २०१७ को प्रारम्भमा ग्रामीण पर्यटनलाई चिनियाँ सरकारले गरिबी निवारण अभियानको एक महत्वपूर्ण भागका रूपमा पहिचान गर्‍यो।

नोभेम्बर २०२० मा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य पूरा गर्ने घोषणा गरिसकेको छ। यद्यपि प्रधानमन्त्री ली केकियांगले मे महिनामा ६० करोड चिनियाँले करिब ४० प्रतिशत जनसंख्या अझै प्रति महिना १,००० युआन (१५९ डलर) कमाउँने गरेको औंल्याएका थिए।

यो नीतिले ग्रामीण क्षेत्रमा ठूलो लगानी भएको छ। डिसेम्बरमा, सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएअनुसार चिनियाँ सरकारले २०१६ देखि २०२० बीचमा गरीब ग्रामीण क्षेत्रमा ‘सांस्कृतिक प्रगति र पर्यटन विकास’ सुधार गर्न ६५६ मिलियन डलर (४.३ विलियन युआन) खर्च गरेको छ।

सिन्ह्वाका अनुसार दक्षिण–पश्चिमी युनान प्रान्तमा मात्र आठ लाखभन्दा बढी मानिसलाई ग्रामीण पर्यटनद्वारा गरिबीबाट उठाइएको छ। यस उद्योगले विगत ५ वर्षमा यस प्रान्तका लागि १३० विलियन डलरभन्दा बढी राजस्व आर्जन गरेको छ।

हालैका वर्षहरूमा चिनियाँ सरकारी सञ्चारमाध्यमले सहरमा बसोबास गर्ने पर्यटकलाई आकर्षण गरेर हजारौँ मानिसलाई रोजगारी पाएका गाउँहरूका कथा संप्रेषण गरेका छन्। ‘तर हरेक लगानी सफल भएको छैन। प्रस्तावमा ठूलो मात्रामा पैसाको साथ र लक्ष्यलाई प्रहार गर्दै केही परियोजनाहरू खास गरेर दुर्गम क्षेत्रमा पहुँच गर्न कठिन छ। अझै लगानी फिर्ता देख्न सकेका छैन’, सांघाई सहरका झोउले भने, ‘मैले लाखौं लगानी गरेका ठाउँ देखेको छु तर धेरै पर्यटक ल्याउन सकिरहेका छैनन।’

भविष्यको आशा

पर्यटन कम्पनीका वाङले विश्वास गर्दै भनिन्, ‘ग्रामीण पर्यटन स्थल भर्खरै थालिसकेको छ र भविष्यमा यसले चीनको असंख्य स्थानीय संस्कृतिमा केन्द्रित हुनेछ। हालका वर्षमा कृषि र ग्रामीण विकास नीतिबारे हेर्दा मलाई लाग्छ कि ग्रामीण क्षेत्रमा प्रशस्त सम्भाव्यता छ।’

ग्रामीण इलाका होटलमा स्थानीय संस्कृतिमा आधारित सामग्रीसहित धेरै पर्यटन उत्पादन हुनेमा उनी आशावादी छिन्।

केन्द्र सरकार ग्रामीण पर्यटन प्रबर्द्धनमा पछाडि हटेको देखिँदैन। चिनियाँ कम्युनिष्ट पार्टीको १५ औं पञ्चवर्षीय योजनाको मस्यौदामा २०२१ देखि २०२५ सम्म सरकारले ‘फुर्सदको कृषि, ग्रामीण पर्यटन र होमस्टे अर्थतन्त्र’ लाई थप सुदृढ पार्न आव्हान गरेको छ।

सांघाई टुर गाइड इन्टरप्राइज म्यानेजमेन्ट कन्सल्टिङ कम्पनीका झोउ भन्छन्, ‘सरकारी नीति र ग्राहक दुवैको समर्थनले ग्रामीण पर्यटनको भविष्य उज्ज्वल देखिन्छ।’

नेपालमा ग्रामीण पर्यटनको भविष्य

प्राकृतिक,  जातीय,  सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिएको नेपालमा गाउँ पर्यटन अर्थात ग्रामीण पर्यटनको प्रचूर सम्भावना छ। यस्तो विविधतामा आन्तरिक पर्यटक भरपुर रमाउन सक्छन्।

बाह्य पर्यटकका लागि पनि सूचना, मनोरञ्जन र ज्ञान बटुल्ने राम्रो अबसर बन्न सक्छ तर आजसम्म गाउँ–पर्यटनको जति अभ्यास भएको छ त्यो निजी क्षेत्रको पहलबाट मात्र भएको पर्यटन विज्ञहरू बताउँछन्।

पर्यटन पत्रकार अमृत भादगाउँलेका अनुसार नेपाल सरकारले ग्रामीण पर्यटनलाई प्राथमिकतामा राखेर राष्ट्रिय नीति निर्माण तहमा खासै काम गरेको देखिँदैन। ‘पर्यटनमा बामे सर्दै गरेका हाम्रा सबै गाउँहरूले पर्यटक पाउन सकेका छैनन्। पर्यटन बजारसँग उनीहरूको सम्बन्ध (लिँक) नहुँदा समस्या भएको हो,’ उनले भने। 

केन्द्र र स्थानीय सरकारले ग्रामीण पर्यटन प्रोडक्टलाई मार्केटिङ गर्न पनि सघाउनुपर्छ। यस्तै भूमिका नेपाल पर्यटन बोर्डले पनि निर्वाह गर्नुपर्छ। यसले गाउँलेको मनोबल बढाउन मद्दत गर्छ।

त्यसैले स्थानीय र केन्द्र सरकारले हाम्रा गाउँहरूको प्रचारप्रसार (युट्युव भिडियो, वेवसाइट, एप्स, ब्रोसर बुकलेटलगायत उत्पादन)मा गाउँलेलाई आर्थिक तथा नैतिक सहयोग गर्नुपर्नेमा भादगाउँले जोड दिए। त्यसका साथै तालिम, अध्ययन भ्रमणलगायतमा प्रोत्साहित गर्नुपर्छ।

गाउँ पर्यटनलाई हौसला बढाउन हाम्रा गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्र सरकारले आफ्ना मिटिङ, गोष्ठी, तालिम लगायतका कार्यक्रम गाउँघरका होटल तथा होमस्टेमा सञ्चालन गर्नसके लाभ हुने देखिन्छ। साथै ग्रामीण पर्यटनमा लागेका विज्ञहरूलाई राखेर विकास तथा योजनाको काम अघि बढाउनुपर्छ।

केन्द्र र स्थानीय सरकारले ग्रामीण पर्यटन प्रोडक्टलाई मार्केटिङ गर्न पनि सघाउनुपर्छ। यस्तै भूमिका नेपाल पर्यटन बोर्डले पनि निर्वाह गर्नुपर्छ। यसले गाउँलेको मनोबल बढाउन मद्दत गर्छ।

अहिले हामी मात्र होइन, संसार नै कोरोना महामारीको चपेटामा छ, सधैँ यस्तै अवस्था रहनेछैन। फेरि घुमफिरको वातावरण बनिहाल्छ।

ग्रामीण गन्तव्य घुम्ने क्रममा सफा वास र स्वस्थकार खानपिन महत्वपूर्ण अङ्ग हो। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमुख प्रशिक्षक मनराजा खत्रीले भन्छन्, ‘खाना हाम्रो संस्कृति र राष्ट्रको आँखीझ्याल हो। जब पर्यटक कुनै ग्रामीण गाउँठाउँ यात्रा गर्छन, स्थानीय खानाको माध्यमबाट यसले गहिरो र अर्थपूर्ण अनुभव वटुल्न सक्छन्।’

खाना र पेय पदार्थले छुट्टी वा यात्राको दिर्घकालिन सम्झना प्रदान गर्दछ। खाना शारीरिक आवश्यकता मात्र नभएर सांस्कृतिक पहिचान, समुदाय र व्यक्तित्वको झलक दिन्छ। जसले पर्यटकलाई नयाँ अनुभव, अन्तर्देशीय, र उनीहरूले भ्रमण गरिरहेको ठाउँमा गहिरो अन्तरदृष्टि समेत प्रदान गर्दछ।

‘ग्रामीण क्षेत्रमा यात्रा गर्दा विभिन्न जातजातिका मौलिक खानाको परिकारले रमाइलो अनुभव संगाल्न मद्दत गर्दछ,’ उनले भने।

त्यस्तै गाउँपर्यटन प्रवर्धन मञ्चका पूर्व अध्यक्ष तथा एभरग्रिन ट्राभल टुरका सञ्चालक चित्रवहादुर गुरुङले कोभिड १९ पछि आन्तरिक पर्यटनको संभावना देख्छन। बैदेशिक रोजगार तथा प्रवासी नेपालीको क्रय शक्ति बृद्दी भएकाले शहरका सिमित मनोरञ्जन गर्ने ठाँउबाहेक अन्य अनौठा अनुभव लिने अवसर अभावले पनि ग्रामीण पर्यटन राम्रो बिकल्प हुन सक्ने उनको तर्क छ। साथै नेपालका  बिभिन्न जातजाति र सबै समुदायमा आ–आफ्नै किसिमका संस्कृति, भेषभुषा, खानाका परिकार छन्। यी ग्रामीण पर्यटनको प्रमुख आकर्षण हुन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा दिने घोषणा गरेको छ।

सामूहिक रुपमा वसोवास गर्ने गाउँले र भौगोलिक हिसाबले उपयुक्त हावापानी र प्राकृतिक सौन्दर्यका कारण हरेक उमेर समूहका पर्यटक– युवा, परिवार र  बूढापाकाका लागि समेत हाम्रा गाउँघर उपयुक्त छन्। 

त्यसैले यी पर्यटनका आधरभूत तत्वहरूको सही व्यवस्थापन, संरक्षण र प्रवर्द्धन गर्न सकेमा स्थानीय जनताको जीवनस्तर वृद्धि गर्न सकिने र आन्तरिक तथा बाह्य पर्यटकका लागि भ्रमण उपयुक्त गन्तव्य हुनेछ,’ गुरुङले सुनाए। यो नै ग्रामीण पर्यटनको ठूलो चुनौती हो।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा दिने घोषणा गरेको छ। यसले  घुमफिर संस्कृति बढ्नेछ। कोरोना भाइरस महामारीले थला परेको पर्यटनमा आशा जगाउने छ।

‘यसले करिब तीन लाख २५ हजार कर्मचारीको भ्रमणले आन्तरिक पर्यटन चलायमान गराउन सहयोग पुग्नेछ,’ विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन वोर्डका पूर्व कार्यकारी निर्देशक दीपकराज जोशीले बताएका छन्। विगतमा नाराहरुले सुसज्जित बजेट वक्तव्यभन्दा यसपल्ट व्यावहारिक पक्ष समेटिएकाले आशा जगाएको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पर्यटन विद्वान रमेशराज कुँवरका अनुसार, कोभिड पछि दुई–तीन वर्षयता तुरुन्त अन्तर्राष्ट्रिय पर्यटक नेपाल आउँने सम्भावना देखिँदैन। ‘यसको प्रमुख कारण खोपप्रतिको विश्वसनीयतामा कमी, मानिसको आम्दानी घट्नु र नेपाल सुरक्षित गन्तव्य हो भन्नेमा शङ्का हुनु हो,’ उनले भने। यस्तो बेलामा आन्तरिक पर्यटनमा जोड दिन सरकारले पर्यटन विज्ञसँग सर–सल्लाह र सहयोगमा पर्यटन नीति तथा योजना तर्जुमा गर्नुपर्ने प्राध्यापक कुँवर बताउँछन्।

तसर्थ कोरोना महामारीपछि विश्वभरि मानिसको घुमफिर बढ्ने छ। केही समयपछि वातावरण सामान्य बन्दै जान्छ। त्यतिबेला फेरि घुमफिरको वातावरण बन्ने छ। त्यसैले स्थानीय र केन्द्र सरकारले गाउँगाउँमा आन्तरिक पर्यटकलाई लोभ्याउने अभियान चलाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमद्वारा अभियान नै सञ्चालन गर्नुपर्ने पत्रकार भादगाउँलेको धारणा छ।

उनका अनुसार यसबाट दुईटा फाइदा पुग्छ– पहिलो महिनौँदेखि घरमा उकुसमुकुस भएर बसेकाहरु नयाँ ठाउँ घुमेर आफूमा स्फूर्ति बढाउन सक्छन्। दोस्रो, यसले ग्रामीण पर्यटनका उद्यमीलाई बचाउँछ। उनीहरूको उत्साह बढ्छ।

तत्कालै पर्यटन क्षेत्र चलायमान हुँदैन। निषेधाज्ञापछि आन्तरिक घुमफिरको वातावरण चाहिँ बन्न थाल्छ। त्यसैले आन्तरिक पर्यटनको विकास र प्रवर्द्धनमा अहिलेदेखि नै सरोकारहरूले गम्भीरताका साथ पूर्वतयारीका काम गर्नु पर्ने देखिन्छ।

(पहिलो पटक २०७७ चैत २४ गते मंगलबार प्रकाशित सामाग्री)

प्रकाशित मिति: : 2022-01-06 16:44:00

प्रतिकृया दिनुहोस्